ओझेल भित्रका सचेतना अभियान
No icon

भारतीय मगर  जनजातिमा  सूचिकृत गराउन माग गरिरहेका छौं

विष्णु राना मगर

महासचिव-भारतीय राष्ट्रिय मगर समन्वय समिति

सचिव -अन्तर्राष्ट्रिय मगर संघ

भारतीय राष्ट्रिय मगर समन्वय समितिका महासचिव रहेका विष्णु राना मगर सिक्किमका स्थानीय वासिन्दा हुन । समग्र मगर समुदायलाई हक अधिकार एवम् सचेतना फैलाउँदै भाषा, संस्कृति पहिचानका लागि भारत सरकारसँग आवाज उठाउँदै आइरहेका छन् विष्णु राना मगरले ।  सिक्किम सरकारका सूचना तथा सम्पर्क विभागका सहायक निर्देशक रहेका राना दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलनबाट सचिव बनेका छन् । भारतीय मगरहरुका विषयमा केन्द्रीत रहेर हाम्रो गोरेटोले  सचिव रानासँग गरिएका कुराकानीका केही अंशहरुः

यहाँ सिक्किम सरकारको स्थायी कर्मचारी पनि हुनुहुन्छ, सिक्किममा मगरहरुको कुरा कसरी उठाउनु भएको छ ?
सर्वप्रथम हामीले मगरका माग जनजातिमा समेट्नलाई मगर संघको माध्यमबाट सरकारसँग मागहरु राख्दै आएका छौं । सिक्किम सरकारले मगरहरुलाई आधारभूत सुविधा र सहुलियत त दिएकै छ । जस्तै सिक्किम सरकारले विभिन्न भाषामा मुख पत्र प्रकाशन गर्दछ । पछिल्लो समयमा सिक्किम सरकारले आफ्नो गतिविधि र कार्यक्रमका बारेमा मगर भाषामा पनि प्रकाशन गरेको छ । जस्ले मगर समुदायसँग सरकार पुग्न  र मगरहरु सरकारसम्म पुग्नका लागि कोशेढुङ्गा सावित बनेको छ । 
त्यसो भए सिक्किम सरकारले मगरहरुलाई समानुपातिक प्रतिनिधित्व हुने गरी के कस्ता व्यवस्थाहरु गरेको छ ?
सिक्किम सरकारले सन १९९५ देखि मगर भाषालाई राज्य भाषाको रुपमा मान्यता दिएको छ । मगर भाषा लगायत राई, गुरूङ, तामाङ, शेर्पा, नेवार लगायत जातिका भाषालाई सिक्किम सरकारले राज्य भाषाको मान्यता दिएको छ । यदि सिक्किम सरकारको संसदमा कुनै मगरले जितेर जान्छ भने सरकारले नै दोभाषेको समेत व्यवस्था मिलाइ दिएको छ । सन २००४ देखि मगरहरुको बाहुल्य भएको ठाउँमा मगर भाषाको पाठ्यक्रम तयार गरी विद्यालयहरुमा पठन–पाठन गर्नेसमेत व्यवस्था गरेको छ । अहिलेसम्म सिक्किममा ३७ वटा स्कूलमा कक्षा ८ सम्म मगर भाषामै शिक्षा प्रदान भइरहेको छ । त्यसैगरी ९ र १० को लागि ऋद्यक्भ् बाट मान्यता लिई अघि कक्षा बढाउन प्रयत्न गर्दैछौं । त्यसको लागि सिक्किम सरकारको शिक्षा विभागमा अन्तरगत भाषा निर्देशानलय खुलेको छ । त्यसले स्टेट युनिभर्सिटिसंग समन्वय गरी दुर शिक्षाको माध्यमबाट पढाई सुरु भएको छ । पछि स्नातक तहसम्म पु-याउनलाई हामी पहल गरिरहेका छौं  । र सरकारले पनि हाम्रो मागलाई सम्बोधन गर्ने संकेत पाएका छौं । त्यसैगरी भारतको पश्चिम बंगालमा पनि त्यहाँको सरकारले कालिङपोङ,  दार्जिलिङमा मगर विकास बोर्ड गठन गरेको छ त्यहाँ पनि मगरका भाषा, संस्कृति विकास एवम् पहिचानको विषयमा काम भइरहेको छ ।
भारतमा मगरहरुलाई सरकारले कुन स्थानमा अधिकार दिई राखेको छ ?
भारत सरकारले मगरहरुलाई पनि सम्मानजनक तरिकाले राखेको छ । अझ  हामी भारतमा जनजातिको मान्यताको लागि आवाज उठाइरहेका छौं । भारत सरकारले मगरहरुलाई अहिलेसम्म जनजातिको मान्यता दिइएको छैन । जब सरकारले मगरहरुलाई पनि जनजातिको मान्यता दिन्छ त्यसपछि मगरहरुलाई पनि भारत सरकारबाट नैंसर्गिक अधिकार प्राप्त हुन्छ । हरेक सहुलियत र सुविधा पाइन्छ ।
सिक्किममा त मगरहरुको मूल थलो नै हो भनिन्छ नि ?
हो, मगरहरु सिक्किममा धेरै पहिलादेखि बस्दै आएका थिए । विभिन्न इतिहास विदहरुको कथन र लेख्य दस्तावेज अनुसार मगरहरुको आफ्नै मगर जोङ्ग, मगर गढी, मङसरी जस्ता जनपथ राज्यहरु थिए । सन १६४२ पछि भुटिया  राजाहरुसँग मगर राजाहरु हारेपछि मगरहरुको राजकाज क्षत विक्षत भयो र कोही नेपालतिर लागे कोही अन्य मुलुकतिर लागे तर अझै पनि मगरका राज खलककै रुपमा अवशेषहरु बाँकी नै छन् । 
भारतीय मगरहरुले संस्कार कसरी मान्नु हुन्छ ?
भारतीय मगरहरुले विशेषतः भान्जाहरुद्वारा नै कर्म काण्ड गर्ने चलन छ । कर्मकाण्ड संस्कार चलाउदा e';fn, झाँक्रीहरुद्वारा गराइन्छ । मगरहरु प्राय गरी प्रकृतिवादी हुन र बोन धर्म प्रति आस्था राख्दछन् तर पछिल्लो समयमा बुद्ध धर्म संस्कार मान्नेको संख्या पनि थपिएका छन् । 
त्यसैगरी मगरहरुको आफ्नै खालको कला संस्कृतिहरु छन् । जन्मिदाको दिन गर्ने संस्कार, न्वारनको दिन गर्ने संस्कार, विहेमा गरिने संस्कार, मृत्यु पश्चात गरिने संस्कार अन्य जातिको भन्दा फरक छ । जन्मेको ७ वा ९ दिनमा न्वारन गरेर नाम दिने, ५÷६ महिनामा भात ख्वाई गरिने जस्ता मगर संस्कृति अनुसार गर्दछन् । 
सिक्किममा मगरको लागि सामाजिक संरचनामा संघसंस्था संचालन प्रक्रिया के कस्तो रहेको छ ?
सिक्किम मगरहरुको एउटा संस्था छ अखिल सिक्किम मगर संघ यसको स्थापना गर्न सन १९३९ सालमा केही मगर बुद्धिजिवीहरुले कोशिष गर्नु भएको रहेछ तर यो संस्थालाई सायद राजनीतिक वातावरण नमिलेर या मगरहरुले नै ध्यान नदिएर हो दर्ता हुन सकेन । लामो समयपछि  मगरहरुले आफ्नो पहिचान बचाउन साथै  शैक्षिक तथा आर्थिक एवम् राजनीतिक रुपमा स्थापित हुन आवश्यक पर्ने भएको महशुस गरी  १९९३ अगस्त १४ मा  स्थापना गरेका थिए । जसको संस्थापक अध्यक्ष गोविन्द थापा हुनुहुन्थ्यो र म पनि पश्चिम जिल्लालाई प्रतिनिधित्व गर्ने गरि सचिवको रुपमा कार्यसमितिमा रहेको थिए । म त्यस बेलादेखि मगर संघमा सक्रिय रुपमा आबद्ध छु । त्यसैगरी भारत राष्ट्रिय समन्वय समितिमा पनि सक्रिय रुपमा क्रियाशील छु । भारतका विभिन्न ठाउँ दार्जिलिङ्ग, कालिङपोङ, अरुणाञ्चल आदि जस्ता ठाउँहरुमा मगरहरुका विभिन्न समिति छन् । त्यस्तै पश्चिम बंगाल , आसाम,  नागाल्याण्ड, त्रिपुरा, मरहाराष्ट्र, लगायतका ठाउँहरुमा मगरहरुको बसोबास रहेको छ । ति  सबैलाई समन्वयन गर्नको लागि भारत राष्ट्रिय मगर समन्वय समितिले काम गरिरहेको छ । 
मगर भाषा शिक्षामा सिक्किम सरकारले सहयोग गरेको रहेछ, सरकारले बजेट के कति छुट्टाएको छ ?
सिक्किम सरकारले जुन स्कूलमा मगर विद्यार्थी धेरै छन् त्यहाँ शिक्षक नियुक्त गर्ने गरेको छ । अन्य साधारण शिक्षकहरुलाई जस्तै मगर भाषाका शिक्षकलाई पनि समान सेवा सुविधासहित सरकारले नै छान्ने गरेको छ । मगर भाषाका शिक्षक पनि सरकारकै कर्मचारीको रुपमा नियुक्त हुन्छ ।
त्यसैगरी मगर संग्राहलय पनि सरकारले नै स्थापना गरि दिने भनेको छ ।  सिक्किममा मात्र नभई सरकारले विभिन्न ठाउँ ठाउँमा मगर समुदायको बस्ती रहेको ठाउँहरुमा मगर विकास बोर्ड गठन गरि आर्थिक र सामाजिक स्तर उठाउन र मगर भाषा संरक्षणको काम पनि सरकारले नै गर्दै आएको छ । सिक्किम तथा समग्र भारतमा पनि मगरले सरकारको सचिव पदसम्म जागिर खाएका छन् । अन्यमा डाक्टर, इन्जिनियरहरु पनि थुप्रैको संख्यामा छन् ।  सरकारले समुदायको लागि आर्थिक रुपमा स्तर उठाउन विभिन्न खालका योजनाहरु पनि लिएको छ । मगरहरुले त्यसको सुपरभिजन मात्रै गर्दै आएका छौं ।
अब तपाईहरुको सरकारसँगको माग के छ त ?
सरकारसंग हाम्रो प्रमुख माग नै मगरहरुलाई जनजातिमा सूचिकृत गराउन पहल गर्नु  हो । भारतमा जनजातिमा सूचिकृत हुनासाथ भारत सरकारले उपलब्ध गराउने हरेक सुविधाहरु र सहुलियतहरु मगरहरुले पनि प्राप्त गर्न सक्नेछन् । राजनीतिक, शैक्षिक एवम् प्रशासनिक क्षेत्रमा समेत उच्च पदमा हामी निसर्त प्रतिस्पर्धा गर्न पाउँछौं । जनजातिहरु जति छन् ति सबैलाई समान अवसर हुन्छ । त्यसबेला समानुपातिक प्रतिनिधित्वको आधारमा मगरहरुको भागमा पनि आरक्षणको कोटा पर्दछ । सरकारी निकायबाट अहिले जनजातिका रुपमा मान्यता प्राप्त गर्न मगरहरुको आफ्नो छुट्टै भाषा, धर्म, संस्कार, संस्कृति, रितिथिति, रहनसहन, परम्परा फरक छ कि छैन भनेर मगरहरुकै विषयमा नै अध्ययन, अनुसन्धान र अनुगमन गरिरहेका छन् । 
अन्त्यमा केही भन्नु छ कि ?
विशेष गरी नेपाल प्राकृतिक क्षताले भरिपूर्ण देश हो । यहाँका आदिवासी जनजातिहरुका भाषा, कला, संस्कृति देख्दा मलाई अत्यन्तै रमाईलो लाग्छ । यहाँका जनजातिहरुको शैली, स्वभाव र आत्मियता अत्यन्तै राम्रो लाग्छ त्यसैले म बेला बेलामा नेपाल घुम्न आइरहेको हुन्छु र मगरहरुको  संस्कार, संस्कृति, भाषा र हाम्रो सिक्किमको भाषा, संस्कृति पनि अधिकांश मेल खाने हुनाले विश्वभरका मगरहरुको भाषा, संस्कार, संस्कृति एकीकृत गराउँदै आदान–प्रदान गर्ने वातावरण मिलाउन यहाँका मगर संघसंग पनि अनुरोध गर्दछु ।

Comment As:

Comment (0)