
अष्ट्रेलियाको डढेलो निकै खतरनाक स्तरमा
चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ ।
डढेलोका कारण अहिलेसम्म २५ जनाभन्दा बढीको मृत्यु भएको छ भने दुई हजार ५ सय घरहरु नष्ट भएका छन् । त्यसैगरी गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारू तथा अन्य जनावर डढेलोले सखाप भई करिब पचास करोड पशुपंक्षीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ । न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कैयन् बस्तीहरु आगलागीका कारण सखाप भएका छन्। भिक्टोरियाको स्थिती थप भयानक छ । न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जंगलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ । राजधानी क्यानबेरा, सिड्नी, मेलवर्नजस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञले बताएका छन्। मानिसहरु घर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ । यो डढेलोले अस्ट्रेलियाको करिब ६३ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ।
तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नुपरेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । पछिल्लो चार महिनादेखि वर्षा समेत नभएका कारण चर्को घामले डढेलो विस्तार हुँदै गएको छ।
ग्रामीण अग्नि नियन्त्रकले मात्र यसको समाधान गर्न नसक्ने जनाउँदै सरकारले सेना समेत परिचालन गर्यो। यद्यपी आजसम्म डढेलो नियन्त्रणमा आउन सकेको छैन।