ओझेल भित्रका सचेतना अभियान
No icon

बढ्दो इरान - अमेरिका द्धन्द


इरान शक्तिशाली व्यक्तिका रूपमा चिनिएका प्रमुख सैन्य कमान्डर कासिम सुलेमानीको हत्यापछि मध्यपूर्वी मुलुकको राजनीतिक माहोल खल्बलिएको छ । गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए । अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता भएको र त्यसको ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि शुक्रबार बग्दादमा हवाई आक्रमण भएको हो।

इरानी सैन्य कमान्डर कासिम सुलेमानी

सुलेमानीको मृत्युमा इरानले देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । इरानका सर्वोच्च नेता आयोतुल्लाह खामेनीले सुलेमानीको हत्याको विरोधमा अमेरिकासँग कडा बदला लिने चेतावनी दिएको थियो। 

मंगलबार सुलेमानीको शवयात्रामा झन्डै ३५ जनाको मृत्यु भएको र अन्य ४८ जना भने घाइते भएका बीबीसीले उल्लेख गरेको छ । कमान्डरको शवयात्रामा सरिक भएकाहरु भागदौडका क्रममा उनीहरुको मृत्यु भएको थियो ।  तेहरानमा भएको सुलेमानीको शवयात्रामा दश लाखभन्दा बढी मानिस उपस्थित भएको बताइएको छ।

सम्भावित तनावको स्थितिलाई मध्यनजर राख्दै जर्मनीले इराकबाट आफ्ना सैनिकहरुलाई फिर्ता बोलाई सकेको छ । इराकी प्रधानमन्त्रीले आफ्नो मुलुकबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने बताएका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका थिए ।
बदलाको  पूर्वघोषणा गरिसकेको इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा बुधबार रकेट प्रहार गरेको थियो। इरानले अनबर प्रान्तमा रहेको ऐन–अल–असद बेस र इरबिलमा रहेको अर्को सुरक्षा अखडामा  दर्जन भन्दा बढी रकेट प्रहार गरेको थियो ।  इरानको आक्रमणबाट पुगेको क्षतिबारे भने विवरण संकलन भइरहेको छ । 

अमेरिकन सैन्य शिविरमा

मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ । यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र संयुक्त अरब इमिरेटमा बमबारी गर्ने चेतावनी दिएको छ । इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।  इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक चेतावनीपूर्ण वक्तव्यमा आफूमाथि आक्रमण भए अमेरिका र उसका क्षेत्रीय मित्रशक्तिले पछुताउनु पर्ने धम्की दिएको छ । उसको चेतावनीयुक्त वक्तव्य इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो । मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ । यी तनावले दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ । इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । इरान वा अमेरिकाले युद्धको विगुल फुकेमा इरान र  अमेरिकालाई त गम्भीर नोक्सानी ब्यहोर्नुपर्ने नै छ । यसबाट विश्वका अरु देशलाई समेत असर हुन सक्छ ।

चीन, रुस र सिरियाले अमेरिकाको आलोचना गर्दै दुवै देशलाई संयमता अपनाउन आग्रह गर्दै आएका छन् ।


 

Comment As:

Comment (0)