ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चनबासीले लालपुर्जा पाउने कुराले खुशि ल्यायाे

रुपन्देहीको कञ्चन गाँउपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यबस्थित बसोबासीहरुलाई आगामी जेठ, असार भित्र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता–अध्यक्ष देवी प्रसाद ज्ञवाली

 

अरूण दर्लामी मगर

रुपन्देही जिल्लाको कञ्चन गाँउपालिका भित्र बसोबास गर्ने भूमिहीन दलित, भुमीहिन सुकुम्बासी र अव्यबस्थित बसोबासीहरुले आगामी जेठ, असार भित्र लालपुर्जा पाउने भएका छन् ।
 कञ्चन गाँउपालिकाले आयोजना गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यबस्थित बसोबासीहरुको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले बताएका छन् । पहिलो चरणमा नेपालका ७ वटै प्रदेशबाट २÷२ वटा गरी १४ वटा पालीकाहरुमा नापजाँच गरी लाल पुर्जा दिने कार्यक्रम अन्तरगत सबैभन्दा पहिला लुम्बिनी प्रदेशको कञ्चन गाउँपालीकाबाट सुरु गर्न थालिएको अध्यक्ष ज्ञवालीले बताए । उनले कञ्चन गाउँपालीकाले सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धताकासाथ तत्परता देखाएकोले कञ्चनबाटै सुरुवाट गर्न थालेको जानकारी गराए भने  त्यसपछि दाङ जिल्लाको बबई गाउँपालीकामा गरिने बताए ।


यस अघि पनि थुप्रै आयोगहरु बनेर सुकुम्बासी समस्या समाधान गर्ने आयोग बनेतापनि विगतका आयोगहरु गठन आदेशको भरमा खडा भएका थिए । तर अहिलेको आयोग ऐनमा आधारित भएर खडा भएको छ । अहिले सम्म सबै राजनीतिक दलको घोषणा पत्रमा सुकुम्बासी समस्या र श्रमजीवि नागरीकका नाममा लालपूर्जा दिने भनेर घोषणा पत्रमा उल्लेख गरिएता पनि यस पटक हामीले घोषणा पत्रमा मात्र होइन फिल्डमै काम गरेर देखाउने अध्यक्ष देवीप्रसाद ज्ञवालीले प्रतिबद्धता जनाएका छन् ।
संसदमा सर्वसम्मतिले छलफल गरेर पास भई भूमि सम्बन्धी ऐनको आठौं संशोधन गरी १५२ ख मा भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्न ऐनमै व्यवस्था गरिएको बताउदै झुटो विवरण पेस नगर्न समेत आग्रह गर्दै यदि कसैले झुटो विवरण पेस गरे रातो पूर्जा होइन रातोघर जाने व्यवस्थासमेत गरिएको अध्यक्ष ज्ञवालीले बताए । उनले मालपोतमा अनलाइन रजिस्ट्रेशन  हुने भएकोले देशभरमा कस्को कति जग्गा छ सबै थाह हुने बताए ।
 नेपालभर एक धुर पनि जग्गा आफ्नो र परिवारको नाममा नभएकालाई र सिमान्तकृत तथा लोपोन्मुख जातिलाई बिना शूल्क जग्गा उपलब्ध गराउने जानकारी दिँदै १० वर्षदेखी जग्गामा भोकचलन गर्दै आएकाहरुका लागि मालपोतमा तयार भएको कर अनुसार न्युनतम ८ प्रतिशत देखी २०० प्रतिशतसम्म लालपूर्जा प्राप्त गर्दा कर लाग्ने बताए । 
पहिलो चरणमा  १४ वटा पालिकामा कार्य सुरु गरी बाँकि ८६ पालिकालाई मंसिर २८ सम्ममा समझदारी पत्रमा हस्ताक्षर गरी देशभरका सुकुम्बासी समस्या समाधान गर्ने वचनवद्धता अध्यक्ष ज्ञवालीले जनाएका छन् । 


त्यस्तै लुम्बिनी प्रदेशका सांसद एवम् नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले देश भरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरी बसेकाहरुका लागि खुशिको दिन आएको बताए । उनले के पी शर्मा ओलीको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरी बसेका नागरिकलाई सम्बोधन गरेको जानकारी दिदै अब कञ्चनबासी पनि लाल पूर्जा बैंकमा राखेर विभिन्न कारोबार, व्यवसाय गरी  समुन्नतिको बाटो तर्फ अघि बढ्ने  विश्वास व्यक्त गरे । 


उक्त अन्तरक्रिया कार्यक्रमा कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यो वर्ष भित्र हातमा लालपूर्जा उपलब्ध गराईदिने ऐतिहासीक काम हुने भएकोले कञ्चनका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यबस्थित बसोबासीहरुको मुहारमा खुशी छाउने बताए । 
 त्यसैगरी भूमि सम्बन्धि समस्या समाधान आयोग लुम्बिनी प्रदेशका सदस्य शोभाराम बस्नेत, आयोगका प्रमाणीकरणका अध्यक्ष राजेन्द्र प्रसाद शर्मा, आयोगका सदस्य सचिव लिलाप्रसाद शार्मा लगाएतले उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए । त्यस्तै नेकपा कञ्चनका अध्यक्ष भरतमणी  सापकाेटाले टिप्पणीसहित शुभकामना मन्तव्य दिएका थिए । 
कार्यक्रममा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास अधिकारकर्मी शंकर आचार्य,  दिनानाथ आचार्य, नन्द बहादुर खड्का  लगाएतले आ आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कञ्चन गाउँपालिकाकी उपाअध्यक्ष गोमा तरामु गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन कञ्चन गाउँपालिकाका प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले गरेका थिए ।

Comment As:

Comment (0)