ओझेल भित्रका सचेतना अभियान
No icon

माझकोट-गोरखा राज्य माथि आक्रमण (सन् १५५९)

-त्रिलोक सिंह थापा मगर

अग्रिम लक्ष्यः

लमजुङ्ग राज्यका राजा यशोब्रम्ह शाहका माहिला छोरा राजकुमार द्रव्य शाहले लिङलिङ वा लिकलिक राज्य माथि आफ्नो शासन सत्ता कायम गरे । त्यसपछि उनि ज्यादै उत्साहित भए । उनको मनोबल र साहस पनि ज्यादै बढ्न गयो । अब उनको अग्रिम लक्ष्यमा मगरात प्रदेशको सबभन्दा महत्वपूर्ण राज्य माझकोट अर्थात गोरखा राज्य माथि बिजय प्राप्त गर्नु थियो । खड्का थरका मगर राजा मानसिंह खड्का मगरलाई हटाएर आफै गोरखा राज्यको राजगद्दीमा बस्नु थियो । हिमवतखण्डमा एउटा विशाल, एवं वृहत गोरखा साम्राज्यको निर्माण गर्नु गराउनु उन्को लक्ष्य थियो । गोरखा राज्यमा शाहबंशीय ठकुरी, क्षेत्री राजबंशको शासन व्यवस्था स्थापना गर्न चाहेका थिए । आफै गोरखा राज्यको राजा बन्ने उन्को सपना थियो ।
 

आक्रमणको तयारीः

यसै क्रममा राजकुमार द्रव्य शाहले माझकोट—गोरखा राज्य माथि भीषण एवं भयंकर आक्रमण गर्ने चाँजोबाजो मिलाउनु थाले । भए भरका आफ्नो सैनिक, लडाकु दस्ता, सहयोगी तथा खस आर्य समुहका युवाहरुलाई जम्मा पारे । रागनीस भने मगर राज्य गोरखा राज्यको सीमा संग जोडिएको थियो । युद्धका लागि आवश्यक पर्ने सामाग्रीहरु सो राज्यबाट गोरखा राज्यमा ओसार पसार गर्न पायक पर्दथियो । सो राज्यबाट गोरखा माथि आक्रमण गर्न पनि सजिलो थियो । अतः रागनीस राज्यको भुमिमा युद्धको सम्पूर्ण तयारी राजकुमार द्रव्य शाहले गर्न थाले ।

माझकोट-गोरखा राज्यमा प्रवेशः

सन १५५९ अगष्ट महिनामा राजकुमार द्रव्य शाह आफ्ना सेना, लडाकु दल, खस आर्य समुहका युवाहरुका साथ माझकोट—गोरखा राज्यका प्रवेश गरे । माझकोटको माथिल्लो कोटलाई चारै तर्फबाट घेरामा पारे । त्यसपछि माथिल्लो कोट माथि भीषण एवं भयंकर हमला गरे । दुबै पक्षका बीच युद्ध हुन थाल्यो । राजकुमार द्रव्य शाहले ठानेका थिए केहि समयमा सम्पूर्ण किल्ला ध्वस्त हुनेछ । त्यसपछि राजा मानसिंह खडका मगरले आफै आफ्नो पराजय स्विकार गर्ने छन् ।

पन्ध्र दिन सम्म निरन्तर राजकुमार द्रव्य शाह, उन्का सैनिक, लडाकु दल तथा खस आर्य समुहका यूवाहरुले माझकोट—गोरखाको माथिल्लो राजदरवार माथि हमला गरे । तैपनि राजा मानसिंह खड्का मगर तथा उन्का सैनिकहरु अलिकति पनि विचलित भएनन् । राजकुमार द्रव्य शाहले राजा मानसिंह खड्का मगरलाई धेरै गलाउन प्रयास गरे तर उनि असफल भए । मानसिंह खड्कालाई हराउन धेरै प्रयास गरे तर उनि सफल भएनन् । 

युद्धको सोह्रौं दिनमा राजा मानसिंह खड्का मगरको भीषण प्रत्याक्रमणबाट राजकुमार द्रव्य शाह आफै पराजीत हुनु पर्याे। आफ्नो तथा आफ्नो सैनिक एवं सहयोगिहरुको ज्यान जोगाउन लिगलिग कोट तर्फ फर्किन बाध्य हुन प¥यो । राजकुमार द्रव्य शाहलाई नराम्रो संग अपमानित हुन पर्याे ।

वास्तवमा माझकोट—गोरखा राज्यका खड्का थरका मगर युवाहरु आ—आपसमा ज्यादै संगठित एवं एकजूट थिए । आफ्नो संरक्षक राजा तथा मुखिया प्रति पूर्ण रुपमा समर्पित थिए । बफादार थिए । राजा मानसिंह खड्का मगर आफै युद्धकलामा अनुभवी, निपुण तथा शक्तिशाली योद्धा थिए । फलस्वरुप राजकुमार द्रव्य शाहलाई युद्धमा कुनै सफलता प्राप्त हुन सकेन ।

अतः राजकुमार द्रव्य शाह ज्यादै निराश एवं हताश थिए । युद्धमा पहिलो पटकको हारले गर्दा उनि चिन्तित एवं बिचलित थिए । तर पन्ध्र दिने युद्धबाट राजकुमार द्रव्य शाहलाई धेरै रणनीतिक ज्ञान एवं व्यवहारिक अनुभव भयो । सिधै एवं सोझै हमला गरेर राजा मानसिंह खड्का मगर जस्तो शक्तिशालि योद्धालाइृ हराउन गाह्रो हुन्छ भन्ने आभास भयो ।
त्यसै समयमा अन्य ठाउँहरुबाट बसाई सरेर आएका खस आर्य समुहका युवाहरुले राजकुमार द्रव्य शाहलाई उस्काउन थाले । जे जसरी भए पनि मानसिंह खड्का मगरलार्इ माझकोट—गोरखा राज्यको राज्य सिहासनबाट हटाउनु पर्दछ  भन्न थाले । सो सिंहासनमा क्षत्रिय ठकुरी राजवंशका राजकुमारलाई बसाल्नु पर्दछ भन्न थाले । रुढीवादी तत्कालीन समाजमा राजा संरक्षक वा मुखिया सके सम्म क्षेत्रिय ठकुरी राजबंशको हुनु पर्ने धारणा पनि व्यापक थियो ।

राजकुमार द्रव्य शाह पनि महत्वाकांक्षी राजकुमार थिए । उन्को गोरखाको राजा बन्ने तीब्र चाहना थियो । गोरखा राज्यमा शाहवंशीय ठकुरीहरुको राज्य सत्ता कायम गर्ने आन्तरिक इच्छा थियो । गुरु गोरखनाथ बाबाले पनि यिनीलाई “यस भेगको राजा हुनेछ”  भन्ने वरदान सपनामा दिएका थिए ।

फलतः राजकुमार द्रव्य शाहले माझकोट—गोरखा राज्यमा दोश्रो पटक हमला गर्ने निधो गरे । तर यस पटक कुटनितिक चालबाजी तथा छलकपटबाट शक्तिशाली मगर राजा मानसिंह खड्का मगरलाई पराजित गर्ने रणनीति राजकुमार द्रव्य शाहले तयार गरे ।

दोश्रो पटकको आक्रमणः

माझकोट—गोरखा राज्य माथि आक्रमण गर्नु भन्दा पहिले राजा मानसिंह खड्का मगरलाई आत्म समर्पण गर्नका लागि राजकुमार द्रव्य शाहले सन्देश पठाए । सो प्रस्तावलाई राजा मानसिंह खड्का मगर तथा उनकासहयोगिहरुले ठाडै अस्विकार गरिदिए । त्यसपछि राजकुमार द्रव्य शाहले माझकोटका केही स्थानीय युवाहरु संग सम्पर्क स्थापित गरे । तिनिहरुलाई पद र पदवीको लोभ लालचमा पारेर आफ्नो पक्षमा मिलाउन उनि सफल भए । उनिहरुको सहयोगमा मध्य रातीको घनघोर अंध्यारोमा राजकुमार द्रव्य शाहले आफ्नो सैनिक, लडाकु दस्ता तथा खस आर्य समुहका युवाहरुका साथ गोप्य तरिकाले चुपचाप माझकोटको तल्लोकोटमा प्रवेश गरे । स्थानीय युवाहरुकोघरमा लुकेर बसे । केही सैनिकहरु बन जंगलमा लुक्न गए ।

किल्लाको घेराबन्दीः

केहि समय पछि सुराकीको गोप्य सूचनाको आधारमा मध्य रातीको घनघोर अंध्यारोमा राजकुमार द्रव्य शाहका सैनिक, लडाकु दस्ता तथा खस आर्य समुहका युवाहरुले माझकोट दरवारलाई चारै तर्फबाट घेराबन्दी गरे । त्यस समय राजा मानसिंह खड्का मगर आफ्नो शयन कक्षमा सुतिरहेका थिए । घोर निन्द्राको अवस्थामा थिए ।

राजकुमार द्रव्य शाहले युद्धको घोषणा पनि गरेका थिएन । आक्रमण गर्ने पुर्व सुचना पनि दिएका थिएन । घोर निन्द्राको अवस्थामा रहेका राजा मानसिंह खड्का माथि एक्कासी राजकुमार द्रव्य शाहले आफ्नो तरवारबाट हमला गरे । भनिन्छ अर्ध निन्द्रित अवस्थामा राजा मानसिंह खड्का मगरले आक्रमणको प्रत्याक्रमण गरे । शसक्त ढंगबाट प्रतिरोध गरे । राजकुमार द्रव्य शाहको तरवारको मारले गर्दा गोरखा राज दरवारको मूल ढोका निरको दलीनमा सानो चिनो बन्न गयो । सो चिनो आज पनि त्यहाँ देख्न सकिन्छ ।

राजकुमार द्रव्य शाह सशस्त्र तथा राजा मानसिंह खड्का मगर निःसशस्त्र थिए । तै पनि दुबै पक्षका बिचमा घमासान युद्ध भयो । धेरै बेर सम्म लडाई भयो तर एक्कासी राजा मानसिंह खडका मगर घाईते भए । भुईका लडे उठ्न सकेनन् । अन्तमा त्यहि उन्को अवसान हुन गयो । त्यसै रातीको बिहान पख मिरमिरे उज्यालोमा साईत अनुसार राजकुमार द्रव्य शाहलाई माझकोट राज्यको कटुवालले गोरखाको राजा भनेर विधिवत घोषणा ग¥यो । (बि.सं. १६०६ भाद्र २५ गते तदनुसार २४ अगष्ट सन १५५९)

शाहवंशीय शासनको स्थापनाः

सदियौं देखिको खड्का थरका आदिबासी भुमिपुत्र मगर जनजातिका मगर राजवंशको माझकोट—गोरखा राज्यबाट (सन १५५९ अगष्ट २४ दिनांक बि.सं. १६०६ भाद्र २५ गते ) अवसान भयो । त्यसै दिन देखि शाहवंशीय ठकुरी क्षेत्री शाही राजवंशको माझकोट—गोरखामा विधिवत शासन व्यवस्था स्थापना भयो । गोरखा राज्यको शुरुवात पनि त्यसै समय देखि शुरु भयो । राजा द्रव्य शाहले जम्मा ११ वर्ष सम्म गोरखामा राज्य गरे । सन १५५९—१७६८ गोरखा राज्य र १७६८—२००८ सम्म नेपाल अधिराज्यमा शाहवंशीय शासन थियो ।

सारांशः

(क) माझकोट—गोरखा राज्यका राजा मानसिंह खड्का मगरले राजकुमार द्रव्य शाहको बिरुद्ध पन्ध्र दिन सम्म स्थानीय जनताको सक्रिय सहयोग एवं समर्थनबाट युद्ध लडेका थिए । उनि लोकप्रिय एवं जनप्रिय मगर राजा थिए ।

(ख) राजकुमार द्रव्य शाहले राजा मानसिंह खडका संग आफ्नो अपमानको बदला लिन चाहन्थ्ये । अतः गोरखामा राज्यभिषेक हुनुका साथै राजकुमार द्रव्य शाहले राजा मानसिंह खड्का मगरको रगतमा चामल मुछेर आफ्नाभाई भारदार तथा माझकोटका सर्व साधारण जनतालाई टीका लगाईदिए । त्यहि समय देखि बडा दशैंको पर्व शुरु भयो भन्ने केही विद्वानहरुको भनाई छ । बडा दशैंको पर्व प्रायः आश्विन वा कार्तिक महिनामा मनाईन्छ राजा मानसिंहको हत्या भाद्र महिनामा भएको थियो । अतः केही विद्वानहरुको भनाई अनुसार दुबै घटनाका तिथि मिति र समय एक आपसमा मेल खांदैन तर खोज हुन सक्छ । 

(ग) सन १५५९ अगष्ट २४ मा गोरखा एउटा सानो शाहवंशीय राज्य थियो । सन १८१५ डिसेम्बर २ दिनांक सम्म दक्षिण पुर्व एशियाली राष्ट्रहरुमा विशाल एवं बृहद गोरखा साम्राज्य हुन गयो। ईस्ट इन्डिया कम्पनी सरकार संग भएको सुगौली सन्धी (२ डिसेम्बर १८१५) पछि यस मुलुकले आधा भन्दा बढि आफ्नो भुमि गुमाउनु प¥यो । तर नेपाल अधिराज्यको राष्ट्रिय झण्डा कहिले पनि कसैको अगाडी कुनै पनि समयमा झुकेन । अर्थात यस मुलुकले कहिले पनि स्वतन्त्रता दिवस ९क्ष्लमभउभलमभलत म्बथ० मनाउदैन ।

मगरात राज्यको अवसानः

अठारौं शताब्दी भन्दा पहिले मगरात राज्यको “रिडी” गण्डकी नदी देखिको पुर्वको सम्पूर्ण भुमिलाई बाह्र मगरात तथा पश्चिम तिरको भूभागलाई “अठार मगरात” भने चलन थियो । आज पनि सो कायम छ । त्यस समयमा मगर जनजातीको बाह्र वटा राज्यहरु बाह्र मगरातमा थिए । त्यस्तै अठार वडा मगर राज्यहरु अठार मगरातमा थिए । पछि यो राज्यहरु छासमिस भयो । फलस्वरुप खस आर्य समुहहरुको बाईसौं तथा चौबिसौं नामले स—साना राज्यहरुको उदय भयो ।

लिच्छवी शासन समाप्त भए पछि पच्छिम नेपालको अधिकांश भूभागहरुमा बाह्र तथा अठार मगरात राज्यहरुको शासन व्यबस्था थियो । त्यस समयमा मगरात राज्यमा स्वर्णिम युग थियो । कसैलाई दुःख, बिपती एवं कष्ट भयो भने सो को निवारणका लागि मगरात राज्यमा गएर आश्रय लिनु भन्ने उखान वरपरका गाउँघरहरुमा व्याप्त थियो । न्याय र इन्साफका लागि मगरात जानु भन्ने चलन पनि थियो । यस्तै उखान टुक्काहरुबाट प्रमाणित हुन्छ कि मगरात राज्यको शासन प्रणाली तथा राज्य व्यवस्था कल्याणकारी अवधारणामा थियोे भनेर भनिन्छ । नेपालको इतिहासमा मगरात राज्यको विविध पक्षहरुमा प्रायः विस्तृत विवरणहरु उल्लेख गरिएको पाइदैन । कारण नेपालको एकिकरण एवं बिस्तारको अभियानको हुरी बतासले मगरात राज्यको लिखित दस्तावेजहरु मेटाई दिए जस्तो छ अथवा जानीजानी मेटाईएको छ ।

माझकोट गोरखाको राजा खड्का थरका मगर राजा मानसिंह खड्का मगर थिए । कुटनितिक छलकपटबाट उन्को हत्या गरियो । उन्को दरवारलाई ध्वंस्त पारियो । नातागोतालाई लखेटियो । ऐतिहासिक प्रमाणहरुलाई नष्ट गरियो । माझकोटगोरखाका खड्का थरका मगर राजा मानसिंह खड्का मगरलाई स्थानीय मगरहरुको पूर्ण समर्थन थियो । माझकोटको तल्लोकोटमा लुकी बसेर दाह्रे गौडा हुदै माथील्लो माझकोटमा आक्रमण गर्ने राजकुमार द्रव्य शाहलाई १५ दिन सम्म राजा मानसिंह खड्काको विरुद्ध युद्ध गर्नु प¥यो । दोश्रो पटकको युद्धमा विश्वासघात तथा षडयन्त्रले मारिएका मानसिंह खड्का मगर मगरात राज्यका लोकप्रिय एवं जनप्रिय अन्तिम मगर राजा थिए । त्यसपछि नेपाल एकिकरण अभियान शुरु भयो । साथै मगरात राज्यको अवसान पनि प्रारम्भ भयो । 

एकीकरण अभियानको कथाः

क) राजा द्रव्य शाहले स्थापित गरेको शाहवंशीय गोर्खा राज्यको उत्तराधिकारी पृथ्वीनारायण शाह २० वर्षको उमेरमा सन् १७४३ ई.अप्रिल ३ तारिकमा (चैत्र २५ गते) गोर्खा राज्यको राजगद्दीमा आरोहण गरे । गोर्खा राज्यको एकीकरणको अभियानको पहिलो चरण बडामहाराजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए । केही लेखकहरूले यो गोर्खा राज्यको साम्राज्यवादी आन्तरिक औपनिवेशिक अभियान थियो भनेर भन्दछन् ।

ख) केही विद्वानहरूको तर्क हो, पृथ्वीनारायण शाह गोर्खा राज्यको एकीकरण गरेर विशाल नेपाल अधिराज्यको स्थापना गर्नमा सफल भए । यो भौगोलिक एकीकरण थियो । तर जनजाति, आदिवासी तथा भूमि पुत्रहरूको लोक संस्कृति, सामाजिक परम्परा तथा ऐतिहासिक विशेषतालाई एकीकरण गर्न सकेनन् । अर्थात उनीहरूको साँस्कृतिक, भाषिक, सामाजिक एंव ऐतिहासिक विशिष्टता माथि निरन्तर प्रहार भयो । हुनत राजा पृथ्वी नारायण शाहले “चार जातको फूलबारी” र “म मगरातको राजा” तथा “मगरलाई विचारीको पद” दिनु भनेर भूमिपुत्रहरूलाई फुरुङ्ग पार्ने प्रयास गरे । जे होस्, आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह नै हुन भनेर ईतिहासको पानामा अंकित छ ।

ग) दोस्रो चरणको नेपाल एकीकरणको अभियानको संचालन राजा प्रताप शाह, राजेन्द्र लक्ष्मी तथा बहादुर शाहको पालामा भएको हो । यसै अभियानलाई अघि बढ़ाउन तेश्रो चरणमा राजा रण बहादुर शाहको पालामा प्रधानमन्त्री भीमसेन थापा द्वारा पहल गरिएको थियो । वास्तवमा बाइसी, चौबीसी तथा मगरात राज्यहरूमा गोर्खा राज्यले आफ्नो आधिपत्य कायम गरिसकेका थियो । त्यसपछि गोर्खा राज्यको पश्चिम सरहदको विस्तार गर्ने आदेश नायक बहादुर शाहले दिएका थिए । त्यसै बेलादेखि महाकाली नदी पार गरेर गोर्खा राज्यको पश्चिम सरहदको विस्तारको ऐतिहासिक कथा शुरु हुन्छ ।

Comment As:

Comment (0)