ओझेल भित्रका सचेतना अभियान
No icon

सहकारीको लगानी उत्पादनमा लगाउँः मन्त्री गिरी

तिलोत्तमा, ११ पुस ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी अगाडि बढाउनुपर्ने बताएका छन् । 
सामूहिक विकास बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा–२ शंकरनगरको २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारीले गर्ने लगानीलाई उत्पादनमूलक क्षेत्र र कृषिमा लगाउनुपर्ने बताए ।
“सहकारीको लगानीबाट आलु, दूध, तरकारी लगायत विभिन्न कृषि वस्तुहरुको उत्पादन बढाउन सकिन्छ, जलविद्युतमा पनि लगानी गर्नु उपयुक्त हुन्छ”– उनले भने । उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एककीकरण हुनुपर्नेमा मन्त्री गिरीले जोड दिए ।
मन्त्री गिरीले कुनै पनि ऐन कानुन सुविधाका लागि र संस्थालाई अनुशासनमा राख्नका लागि रहेको भन्दै सहकारीसम्बन्धी ऐनले अप्ठेरो पारे त्यसलाई फुकाउन आफूले पहल गर्ने बताए । “ऐन सुविधाका लागि हो, यसलाई परिवर्तन गर्न सकिन्छ, सहकारी सञ्चालनमा ऐनले बाधा पु¥याए अप्ठेरो फुकाउन मैले पहल गर्छु”–उनले भने । 
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले थोरै संख्याबाट सुरु भएको सहकारी अहिले हजारौंको संख्यामा सदस्य बढाउन सफल भएको  भन्दै आर्थिक समृद्धिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै सहकारी एकीकरणलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । 
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माले संस्थाको शेयर पुँजी २४ करोड६२ लाख ९५ हजार, क्रृण लगानी, एक अर्व ८९ करोड, ७० लाख ५५ हजार ७६५ पुगेको जानकारी दिए । त्यस अवसरमा नेफ्स्कुनका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण नेपाल, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, लुम्बिनी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष प्रकाश भट्टराई, मणिप्रभा बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष दिनेश फुल्लेल, निवर्तमान अध्यक्ष चुरामणि खरेल, माधव पाठक, संस्थाका उपाध्यक्ष लक्ष्मण ज्ञवाली, संस्थाका शेयर सदस्य दिवाकर पन्थी, देवी वाग्लेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । 

मणिप्रभा सहकारी मर्जरमा जाने
तिलोत्तमा, ११ पुस । 
मणिप्रभा बचत तथा क्रण सहकारी संस्था तिलोत्तमा–३ शंकरनगर अन्य सहकारी संस्थासँग मर्जरमा जाने भएको छ । संस्थाको शनिबार आयोजित ११ औं वार्षिक साधारणसभाले यसैवर्ष उपयुक्त सहकारी संस्थासँग मर्ज गर्ने प्रस्ताव पारित गरेको हो ।
यसका लागि मर्जर कमिटीलाई साधारणसभाले अनुमोदन गरेको सहकारीका कार्यबाहक अध्यक्ष मानबहादजुर केसीले जानकारी दिए । 
साधारणसभाको उदघाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष दिनेश फुल्लेलले कोभिड–१९ ले अन्य क्षेत्र जस्तैसहकारी क्षेत्र पनि प्रभावित भएको भन्दै सहकारी संस्थालाई बलियो बनाउन पनि  मर्जर  आवश्यक भएको बताए । उनले मर्जरका लागि उपयुक्त संस्थाको  खोजी भैरहेको भन्दै अव मर्जर कमिटीले यसबारे गृहकार्य गरी थप प्रक्रिया अगाडि बढाउने बताए । उनले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक अध्यक्ष केसीले संस्थाले ल्याएका बचत योजनालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र नयाँ बचतका योजनाहरु ल्याइने बताए । 
कार्यक्रममा संस्थाका सल्लाहकार युवराज न्यौपाने, सचिव खगेश्वर भण्डारी, लक्ष्मण पाठकलगायतले क्रृण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए । साधारण सभाका अवसरमा संस्थाका ज्येष्ठ सदस्य उमाकान्त भण्डारी र भगवती बस्याललाई दोसल्ला ओढाइ प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
 २०६७ सालमा स्थापना भएको सहकारीको कुल शेयर पुँजी एक करोड २९ लाख ५६ हजार, निक्षेप संकलन ४ करोड ५१ लाख ८९ हजार ६१६ र क्रृण लगानी ५ करोड ३६ लाख ४१ हजार ५०८ रहेको छ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।
 

Comment As:

Comment (0)