ओझेल भित्रका सचेतना अभियान
No icon

ओेझेलमा मित्रसेन

मास्टर मित्रसेनको १२५ औं जन्मजयन्ती


त्रिलोक सिंह थापामगर 
बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन थापा मगरको जन्म सन् १८९५ डिसेम्बर २९ मा भारतको हिमाञ्चल प्रदेश काँगडा जिल्ला भाग्सु धर्मशालाको तोतारानी गाउँमा भएको थियो । सोही गाउँको छेउमा पर्ने तोतारानी गाउँमा ९ अप्रिल १९४६ मा उनको देहावसान भएको थियो ।
मास्टर मित्रसेन थापा मगर आफ्नो समयका महान साहित्यकार, सर्जक, संगीतकार, रङ्गमञ्च कर्मी, तथा समाज सुधारक थिए । यिनी कवि, गीतकार, नाटककार, कथाकार, अनुवादक, निबन्धकार, गायकका साथै धर्म प्रचारक पनि थिए । प्रवासमा जन्मिएर तथा हुर्किएर पनि आफ्नो पितृभूमि नेपाललाई कर्मथलो बनाउने मास्टर मित्रसेन थापाले नेपाली साहित्य संगीत तथा रंगमञ्चिय कला साहित्यमा अतुलनीय योगदान पुर्याएका थिए । यिनी नेपाली गाउँघरको मार्मिक भावहरुलाई समेटेर आफ्ना कृती तथा रचनाहरुमा अत्यन्त मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्न शिपालु थिए । यिनले गद्य, पद्य र नाट्य विद्यामा ज्यादै सारगर्भित, रोचक तथा सन्देशमूलक रचनाहरू सृजना गरेका थिए ।
सन् १९३६ को दशकमा लाहोर, दिल्ली र त्यसपछि काठमाडौ, खर्सायाङ्ग, गनतोक, व्रिटिश गोर्खा र अन्य रेडियो स्टेसनहरू बाट यिनका गीतहरू प्रसारण हुने गरेको थियो । त्यसबेला मित्रसेनको नाम तथा गीतहरू अत्यन्त लोकप्रिय एवं जनप्रिय हुने गर्दथ्यो । नेपाल तथा भारतका विभिन्न शहर, गाउँ, वेशी, पौवा पाटी र घर आँगनहरुमा मित्रसेनका गीत गुञ्जिने गर्दथे ।
ओझलमा मित्रसेन
सन् १९८२ ई. सम्म अर्थात् ६० र ७० वर्षसम्म मास्टर मित्रसेन थापा को हुन्, कहाँ जन्मिए, जीवनमा के कति संघर्ष गरे, साहित्य नाट्य विधा र समाज सुधारमा के कस्तो योगदान थियो भन्ने विषयमा उनका परिवारका सीमित सदस्य तथा केहि मित्रहरु बाहेक अरुलाई केही ज्ञान थिएन । भएता पनि थोरै थियो । यसरी उनका व्यक्तित्व एवं कृतिहरु ओझलमा परेका थिए ।
“मास्टर मित्रसेन साहित्य संगीतमा”
अखिल भारतीय नेपालीभाषा समितिका पूर्वअध्यक्ष प्रख्यात साहित्यकार इन्द्रबहादुर राई भाषा आन्दोलनको सिलसिलामा सन् १९७९ जनावरीमा भाग्सु धर्मशालामा पुग्नुभयो । उहाँको खोज र सल्लाहमा १७ जनवरी १९८२ मा “मास्टर मित्रसेन साहित्य संगीत सभा” भाग्सुका साहित्यकार, सङ्गीतकार तथा समाजसेवीहरुले मिलेर गठन तथा स्थापित गरेका थिए । अर्थात ६० र ७० वर्षपछि सन् १८८४ देखि मात्र मास्टर मित्रसेन थापामगरको जन्मजयन्ती र पुण्यतिथि संस्थात्मक एवं सार्वजनिक रुप मा मनाउने चलन सुरु भयो ।

भाग्सुमा उनको नाममा संस्था गठन भएको १३÷१४ वर्षपछि जन्म शताब्दी समारोहको आयोजना पूर्वअध्यक्ष कर्नेल शिवनारायण गुरुङको सक्रियता एवं पहलमा सम्पन्न भयो । त्यही वर्ष अर्थात् १०० बर्ष पछि २९ डिसेम्बर १९९५ मा काठमाडौंमा डा. हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा शत बार्षिक जन्मजयन्ती समारोह तथा “मास्टर मित्रसेन स्मृति प्रतिष्ठान”को गठन र स्थापना भयो ।
धेरै वर्षसम्म मास्टर मित्रसेनको जन्मजयन्ती र पुण्यतिथी समारोहहरु केवल नेपालको काठमाडौँ र भारतको भाग्सु धर्मशालामा मात्र मनाउने चलन थियो । “मास्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाडौंले मित्रसेनको व्यक्तित्व कृति एवं रचनाहरूको प्रचार प्रसार विभिन्न ठाउँ र मुलुकहरुमा गर्ने गराउने निति तथा कार्यनिति निर्धारण गर्यो ।
“मित्र जन्मजयन्तीको विस्तार”
उक्त मिती अन्तर्गत सन् .......मा मगर संघ हङ्गकङ्गका तत्कालीन अध्यक्ष हुमबहादुर थापामगरको सक्रियतामा “मास्टर मित्रसेन साझ” कार्यक्रम प्रथम पटक विदेशमा धुमधामले सम्पन्न भयो । यसैक्रममा प्रर्यावरण विज्ञ र साहित्यकार विजय हितानको पहलमा सन् .............. बेलायतमा मित्रसेनको जन्म दिवस मनाउने कार्यक्रम प्रारम्भ भयो । 
“मास्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाडौँको पहलमा सन २०१६ सालदेखि भारतीय मगर समाजका महासचिव रवि रानाको नेतृत्वमा देहेरादुनमा “मास्टर मित्रसेन फुटबल टुर्नामेन्ट” द्वारा युवाहरूमा मित्रसेनको बारेमा परिचय दिने कार्यक्रम प्रारम्भ भयो । सो कार्यक्रम प्रभावकारी थियो । सन् २०१७ देखि नै विश्व मगर महासङ्घका महासचिव बिष्णु राना मगर, बिमल थापा, राजेन थापा, दुर्गा मगर लगायतको सक्रियतामा सिक्किमको पायोङ जिल्लामा मित्रसेन जयन्ती धुमधामले मनाउने कार्यक्रम सुरु भयो । आसाम राज्यमा भरत पुलामीको नेतृत्वमा सन २०१७ सालदेखि मित्रसेन जन्मजयन्ती संस्थापक रुपमा मनाउने कार्यक्रम सुरु भएको हो । सन् २०१५ देखि दार्जिलिङमा प्रारम्भ भयो । सन् २०२० डिसेम्बर २९ का दिन मित्रसेनको १२५औं जन्मजयन्तीको अवसरमा उहाँको शालिक अनावरण भएको छ । मित्रसेनको शालिक भारतको भाग्सु धर्मशालामा सन् २०१६ डिसेम्बर २९ र नेपालको कपिलवस्तु जिल्लाको कपिलधाममा  २०१९ डिसेम्बर २९ मा स्थापित गरियो ।
हालका पुस्तक प्रकाशन
विश्व पुस्तक मेला दिल्लीमा प्रसिद्ध लेखक ज्योति मनि थापाद्वारा सम्पादित मित्रसेनको पुस्तक “बुद्ध बाणी”को सन २०१८ सालमा विमोचन भयो । सन् २०१३ सालमा त्रिलोक सिंह थापा मगरको “मास्टर मित्रसेन र उनका सिर्जना” परिचयात्मक पुस्तक, प्रसिद्ध लेखक सुवास दिपकको “मास्टर मित्रसेन थापा” हिन्दी भाषामा, प्रा.डा. खगेन शर्माको अनुसन्धानात्मक पुस्तक “नेपाली संगीतका भानुभक्त मित्रसेन” सन् २००९ मा प्रकाशित भएको पाइन्छ ।

जुममा मित्रसेन जयन्ती
मास्टर मित्रसेन थापा मगरको १२५ औं जन्मजयन्तीका अवसरमा “विश्व नेपाली साहित्य महासँघ” साउथ युकेद्वारा जुम परिचय कार्यक्रम गत ३ जनवरी २०२१ मा आयोजना गरेको थियो । सो कार्यक्रममा डाक्टर खगेन शर्माले भन्नुभयो, “मास्टर मित्रसेन बीसौं शताब्दीका किंवदन्ति हुन्, सामाजिक चेतना देखि जातीय जागरण सम्म ल्याउने काम गरेका छन् । उनको विषय थप अध्ययन आवश्यक छ । ” सोही कार्यक्रममा “मास्टर मित्रसेन साहित्य संगीत सभा” भाग्सुका अध्यक्ष श्रीमती साधना नेपालीले मित्रसेनले गीत–संगीतका माध्यमबाट सामाजिक चेतना फैलाएको बताइन् । मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौंका अध्यक्ष त्रिलोक सिंह थापामगरले प्रतिष्ठानको भावी कार्यक्रमबारे प्रकाश पार्नुभयो । 
मास्टर मित्रसेनका विषयमा अन्तर्राष्ट्रिय गोष्ठी संचालन गरिने योजना छ । सो गोष्ठीमा (क) मित्रसेनका कृतिहरूका पाण्डुलिपिहरूको सम्पादन र प्रकाशन, (ख) प्रकाशित पुस्तकहरूलाई नेपाली भाषा पढाउने विद्यालयहरूको पाठ्यक्रममा समावेश गर्ने, (ग) साहित्यका र सङ्गीतकारहरुका पर्यटन प्रर्वद्धन र (घ) भावी पुस्ताहरूलाई मित्रसेनको विषयमा के कसरी जानकारी गराउने आदि विषयहरुमा छलफल विचारविमर्श सञ्चालन र निष्कर्ष निकालने प्रयास हुनेछ । 
मास्टर मित्रसेन भारतीय साहित्यका निर्माता र भारतीय नेपाली भएकाले भारतका प्रत्येक गोर्खाली बसोबास गरेको शहरहरुमा मित्रसेन संस्था खोल्ने अभियान सञ्चालन गर्ने । त्यस्तै मित्रसेन नेपाली संस्कृति र साहित्यका प्रवर्तक भएको हुँदा नेपालका विभिन्न शहरहरुमा पनि मित्रसेनका नाममा संस्थाहरु क्रमश स्थापित र गठन गर्दै प्रयास गरिने छ भनेर थापाले बताउनुभयो । 
उक्त गोष्ठीमा नेपाल, भारत, यूके, रसिया, अमेरिका, इजराइलबा ९० जनाभन्दा बढी साहित्य, संगीत, समाजसेवी अभियान्तहरुको सहभागिता थियो । विभिन्न संघसंस्थाहरूको संलग्नता थियो । प्रख्यात कलाकार, संगीतकार र साहितयकार क्याप्टेन वीरबहादुर थापा, थिर थापा, प्रतिमा पुर्जा, मनिष, प्रवल थापा, लखन थापा, सुरेन्द्र इङनाम, सेमन्त राई, भरत लोहोङ, मिरा राना आदिको प्रस्तुतिले कार्यक्रम संगीतमय र अन्यन्त मनोरञ्जक भएको थियो । सोही अवरसमा औतारी साइँलाको कविता पाठले साहित्यिक वातावरण सिर्जना गर्यो । युके मगर संघका प्रतिनिधीले आगामी वर्ष मित्रसेन जन्मजयन्ती कार्यक्रम भब्य रुपले मनाउने बताउनुभयो । यसै क्रममा विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिजय हितानले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम सुचनामुलक र साहित्यिक, सांगीतिक तथा प्रेरणात्मक वातावरणमा सम्पन्न भएको दर्शकहरूको निक्र्योल थियो । कार्यक्रम संचालकले अति कलात्मक ढंगले कार्यक्रम संचालन गरेका थिए ।
                                                                                                                                                                                                               triloksthapa@gmail.com
                                                                                                                                                        लेखकः मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।

Comment As:

Comment (0)