ओझेल भित्रका सचेतना अभियान
No icon

मगरात राज्यको विघटन

– त्रिलोक सिंह थापा मगर

नेपाल अधिराज्यमा १६औं सताब्दीसम्म मगरहरूको साना–साना राज्य र थुमहरु थिए । साथै विशाल “मगरात राज्य” पनि थियो । मगरात राज्यको छुट्टै स्वतन्त्र अस्तित्व र आफ्नै पहिचान थियो । प्राचीन समयमा मगरात राज्य अत्यन्त गौरवशाली राज्यको रुपमा प्रख्यात थियो । 
इतिहासकारहरूको अनुसार १४औं शताब्दीको प्रारम्भ तिर भारत दिल्लीमा सुलतान अलाउनदिन खिलनजीको आक्रमण, अत्याचार, दमन तथा हिंसाबाट आफूलाई सुरक्षित राख्न आफ्नो जिउ तथा इज्जत जोगाउन शाह राजाका पूर्वज र वंशहरु मध्ये पश्चिम नेपालका भूखण्डमा पसेका थिए । मगरात राज्यका मगर राजाहरूले उनीहरुलाई आश्रय दिएका थिए । भारतबाट नेपाल पस्ने राजपुत राजाहरुलाई मध्यपश्चिम नेपालका भिरकोट खिल्लुँ भन्ने ठाउँमा बसोबास गर्न व्यवस्था मगर राजाहरूले मिलाइदिएका थिए ।
भारतका चितौड राज्यबाट आएका राजपुतहरुले केहीसमय र कालपछि मगरात भेगमा आ–आफ्नो राज्यहरू खडा गर्न थाले । साम, दाम, दण्ड र भेदको नीति अनुसरण गर्दै सबभन्दा पहिले ढोर र नुवाकोटमा आफ्नो राज्य स्थापना गरे । त्यसपछि सन् १५५९ ई.मा मगर राजा मान सिंह खड्का लाई षड्यन्त्र पूर्वक विस्थापित गरेर गोर्खा राज्यमा आफ्नो वंश शाहा राजाहरुले स्थापना गरका थिए । सो को विवरण इतिहासमा उल्लेख गरिएको छ । यसरी नै विशाल मगरात राज्यको विघटनको काम शुरु भएको थियो । सानासाना मगर राज्यहरु पनि क्रमिक रुपले छिन्नभिन्न र लोप हुन थाले ।
लिपिबद्ध प्रमाणको अभाव
क)    नेपालको इतिहासमा मगर जातिको लामोसमय र काल सम्म शासन गरेको थियो । मगरहरुले आफ्नै राजनैतिक, सामाजिक, सांस्कृतिक एवंम् आर्थिक संरचनाहरू विकास गरिसकेका थिए ।  आर्थिकरुपमा मगरात राज्य आत्मनिर्भर थियो । साथै मगरहरु स्वावलम्बी थिए । आफ्नै जीवन शैली, धार्मिक आस्था, संस्कार, परम्परा, सामाजिक मूल्य र मान्यता आदि तयार गरी सकेका थिए । 
ख)     मगरहरुले स्थानीय वातावरणअनुसार तीन थरीका मगर भाषाहरु पनि विकसित गरेका थिए ।  (काइके, मगर पाङ र मगर ढुट) प्राचीन समयमा मगर भाषाको अक्खा लिपी पनि तयार गरेका थिए । यसरी मगर जनजाति प्राचीन समयमा आदिम सभ्यता तथा संस्कृति भन्दा ९एचष्mष्तष्खभ ऋगतिगचभ० धेरै माथि उठिसकेको प्रमाणित हुन्छ । उच्चस्तरको सभ्यता विकसित गरिसकेका थिए ।
ग)    समृद्धिशाली मगर समाजको उत्पती, उद्भव,  विकास लामो अवधिसम्म शासन गरेको क्रमिक विवरण आदिबारे कुनै दस्तावेज, हस्तलिखित पुस्तक, वंशावली, ताम्रापत्र, शिलालेख, अड्डा कागज र अन्य प्रमाणहरु प्रायः भेटिँदैन । केही प्रमाणहरु भेटिए पनि धेरै कम संख्या तथा अपुरो मात्र भेटिन्छ ।
घ)    मगरहरूको सुनौलो इतिहास एक पुस्ताबाट अर्को पुस्तासम्म केवल मौखिक रूपमा मात्र हस्तान्तरण गर्ने चलन रहेको पाइन्छ । आज पनि त्यही चलन मगर समाजमा विद्यमान रहेको देखिन्छ । लिपिबद्ध गर्ने गराउने संस्कृति आजसम्म मगर समाजमा स्थापित हुनसकेको देखिँदैन । मगरहरुमा लेख्ने  र लिपिबद्ध गर्ने बानी तुलनात्मक रुपमा अझ पनि कमै जस्तो छ ।
ङ)     अर्को कारण हो, तत्कालीन राज्य सत्ताले नियोजित रुपमा मगराती संस्कृतिको लिपीबद्ध प्रमाण, दस्तावेज र इतिहासहरु आगोमा बालेर नष्ट गरेका थिए । साथै केही मगरहरूले पनि पुराना दस्तावेजहरुको संरक्षण प्रति चासो राखेन जस्तो देखिन्छ ।
च)    तत्कालीन राज्यसत्ताले खानी उद्योगमा काम गर्ने मगर श्रमिकहरुलाई आफ्नो मातृभाषा बोल्दा चार पैसा डण्ड सजाए र तिर्न नसक्नेहरूको जिब्रो काट्ने कानून बनाएका थिए । मगरभाषामा गीत गाउन र नाचगान गर्न बन्देज थियो । यसरी मगरहरूको ऐतिहासिक दस्तावेज नष्ट गर्न तथा संस्कृतिहरुलाई समाप्त पार्न तत्कालीन राज्यसत्ताको निरन्तर प्रयास रहेको थियो । 
छ)     वर्तमान समयमा मगर जनजातिको इतिहास, ऐतिहासिक दस्तावेज, सामाजिक सांस्कृतिक, धार्मिक साहित्यको खोजी र अनुसन्धान गर्न तथा लिपिबद्ध गर्न आवश्यक चाँजोपाँजो र वातावरण मिलाइदिने दायित्व नेपाल मगर संघको हुन्छ । भावी पुस्तालाई आफ्नो इतिहासको ज्ञान आवश्यक छ । भनिन्छ इतिहासको ज्ञान भयो भने नयाँ इतिहास रच्न सकिन्छ ।
राजनैतिक परिवर्तन र मगर
क)    नेपालको हरेक राजनीतिक परिवर्तनहरुमा मगर समुदायको अत्यन्त सक्रिय सहभागिता, संलग्नता, सहयोग तथा सहकार्य रहेको इतिहासकारहरूले उल्लेख गरेका छन् ।  वि.सं २००७ सालको क्रान्तिमा तुलनात्मक रूपमा धेरै संख्यामा मगरहरुले आफ्नो जीवनको बलिदान गरेका थिए । विसं २०४६, २०६२ र २०६३ सालहरुका जनआन्दोलनहरुमा मगर जनजातिको अत्याधिक सहभागिता थियो । माओवादीको दश वर्ष जनयुद्ध को मुख्य कर्णधार तथा आ–आफ्नो प्राणको आहूती दिने मगरहरूको संख्या तुलनात्मक रूपमा अरु समुदायभन्दा बढी थियो ।
ख)    नेपालमा हुने प्रत्येक राजनीतिक परिवर्तन, आन्दोलन, संघर्ष र जनयुद्धहरुमा मगरहरूको संलग्नता तथा जिउ ज्यानको आहुति तुलनात्मकरुपमा बढी देखिन्छ । तर सो अनुसारको प्रतिफल मगर समुदायले प्राप्त गरेको देखिँदैन । प्राय यो प्रश्न मगर समाजमा उठिरहेको हुन्छ ।
ग)    केही मगरहरूको आफ्नो व्यक्तिगत प्रयासमा सत्ताको सर्वौच्च स्थानहरुमा पुग्न सफल भएका छन् । तर सामूहिक र समूहगत रुपमा मगरहरूको आधिपत्य, पहुँच तथा पकड राष्ट्र र राज्यको सर्वोच्च पदहरूमा देखिँदैन । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, शैक्षिक, प्राज्ञिक, आर्थिक, वित्तीय, सरकारी संस्था, सुरक्षा, संस्कृति, सञ्चारहरुका उच्चपदहरूमा जनसङ्ख्याको आकारको तुलनामा मगरहरूको उपस्थिति नगण्य देखिन्छ । 
घ)    त्यस्तै राष्ट्रिय राजनीतिक दलहरूको सर्वोच्च निकायहरुमा पनि मगर राजनीतिज्ञहरूको पहुँच पुग्न सकेको छैन । मगर राजनीतिज्ञहरूको प्रभावकारी भूमिका देखिँदैन ।
ङ)    मुलुकको कुल जनसंख्यामा तेस्रो स्थान ओगटेका मगर समुदाय आज पनि राज्यसत्ताबाट अवहेलित, उत्पीडित तथा उपेक्षित नै छन् । यसका मुख्य कारणहरु निम्नानुसार परिभाषित गर्न सकिन्छः
केहि कारकहरूः
१)     संविधानको समावेशी भावना एकातिर छ भने राज्य सञ्चालकहरूको धारणा तथा सोचाइ अर्कोतिर देखिन्छ । राज्यसत्तामा पहुँचहुनेहरुले अझ पनि विविध समुह, समुदाय र जाति जनजातिहरूको अस्तित्वलाई आत्मसात गर्न सकेका छैनन् । अझपनि शासकहरूले मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, आर्थिक विविधतालाई केवल एक पक्ष परम्परावादी र पुरानो दृष्टिकोण बाट हेर्ने तथा बुझ्ने चलनलाई परित्याग गर्न सकेका छैनन् ।
२)    नेपालको संविधानले संघात्मक प्रणालीलाई स्वीकार गरेको छ तर शासनप्रणाली हाक्नेहरुले अझसम्म केन्द्रीकृत शासन प्रणाली प्रतिको मोह परित्याग गर्न सकेका छैनन् । आदिकालदेखि जनजातिको पहिचान, चिनारी तथा अस्तित्वलाई आत्मसात र स्वीकार गर्न सकेका छैनन् ।
३)    उपरोक्त सोचाईहरुले गर्दा नीति निर्धारण गर्ने आर्य समूहले नियोजित ढंगबाट २ नम्बर प्रदेश बाहेक अरु प्रदेशको स्थापनामा केवल भूगोल र भूमीलाई मात्र आधार लिएको देखियो । प्रदेशहरूको नाम पनि भौगोलिक आधारमा राखियो । पहिचानको आधारमा प्रदेश पुर्नगठन गर्दा सामाजिक वैमनस्यता र सामाजिक दूरी बढ्दछ भन्ने धारणा पेस गरियो । साथै साना–साना प्रदेशहरूको गठन गर्दा राष्ट्रले खर्च धान्न सक्दैन समेतको तर्क अघि सारियो । यसरी जनजातिको पहिचानको मुद्दालाई न्यूनीकरण गरियो ।
सारांश
तीन वर्षदेखि २ नम्बर प्रदेशमा सामाजिक समाजस्यता, समपिता तथा सद्भाव पहिले भन्दा अझ बढी भएको पाइन्छ । विभिन्न समुह, समुदाय र समाजमा निकटतामा वृद्धि भएको देखिन्छ । साना–साना प्रदेश भएमा व्यवस्थापन छरितो हुने, स्थानीय स्रोत र साधनको प्रभावकारी परिचालन हुने कारणले गर्दा आर्थिक उत्पादनमा बृद्धि हुने देखिन्छ । यसरी राष्ट्रिय खर्चमा भार कम हुन्छ । 
उदाहरणका लागि भारत सरकारले पंजाव राज्यलाई हरियाणा र हिमाञ्चलमा तथा उत्तर प्रदेशबाट उत्तराखण्ड छुट्याएर साना–साना राज्य स्थापित गर्यो । त्यसपछि यी साना–साना राज्यको प्रगति र समृद्धिमा तिव्रता आएको पाइन्छ । नागा जातीय राज्य नागाल्याण्ड राज्यको विकास र प्रगति राम्रै देखिन्छ । साना–साना राज्यमा जनताको शासन–प्रशानमा सहभागिता बढी हुन्छ  ।  लोकतन्त्र संस्थात्मक विकास गर्न पनि सहयोग पुग्छ ।
शक्तिशाली मगर मतदाता
नेपालको संविधान २०६२ अनुसार बालिक मताधिकार र आवधिक निर्वाचन पद्धति दुवै लोकतान्त्रिक प्रणालीको मुख्य आधारहरु हुन् । यदि मगर जनसंख्यालाई तीन प्रदेशमा विभाजन नगरेको भए मगर मतदाता तुलनात्मक रुपमा शक्तिशाली रुपमा अघि थिए ।
क)    मुलुकको कुल जनसंख्यामा मगरहरु ७ प्रतिशतभन्दा बढी छन् । (१८,८७,७३३), क्षेत्रीहरु १६ प्रतिशत (४३,९८,०५३), बाहुनहरू (३२,२७,९०३) मगरहरूको जनसंख्या भन्दा क्षेत्री तथा बाहुनको जनसंख्या बढी देखिन्छ । यिनीहरु अधिराज्य भरी फैलिएका छन् । त्यसका लागि यिनीहरु मतदाताको हैसियतमा शक्तिशाली देखिदैन । कणार्लीमा खसहरूको सख्या बढ्दै छ ।
ख)    मगरहरू पनि अधिराज्य भरि छरिएर बसोबास गरेता पनि पहिलेको लुम्बिनी अञ्चलको कुल जनसंख्यामा पहिलो स्थान तथा गण्डकी अञ्चल दोस्रो स्थान रहेको छ पाल्पा, रोल्पा, तनहुँ, बाग्लुङ, प्युठान र म्याग्दी जिल्लाहरुमा (६ वटा) मगरहरूको अत्याधिक घना तथा सघन बस्ती र बसोबास देखिन्छ । १३ वटा जिल्लाहरुमा मगरहरूको जनसंख्या दोस्रो स्थानमा रहेको पाइन्छ । निर्वाचनमा समुदाय र सम्प्रदायको प्रभाव पर्नु विकासोन्मुख राष्ट्रहरुमा स्वाभाविक कुरा हो ।
सामाजिक ऐकबद्धता र शिक्षा
क)    मगर समाजमा धेरै थर र उपथरहरू भएतापनि सामाजिक विभिन्नता, सामाजिक सार र सामाजिक दुरी पाइदैन । -Social difference, social stratification, social distance)  आर्यहरु र केही जानजातिमा यस्तो विभेद देखिन्छ । मगरहरूको भाषाहरु पनि तीनवटा छन् । संस्कृति पनि ठाउँ अनुसार फरक–फरक पाइन्छ । तै पनि मगर समाज एक ढिक्का, एकबद्ध र संगठित समुदाय नै छ । हाल धर्मको आधारमा मगर समाजमा केहि कटुता बढेको पाइन्छ ।
ख)     शिक्षाको क्षेत्रमा मगर समाजमा साक्षरताको दर ७१ प्रतिशत अर्थात राष्ट्रिय साक्षरताको दर ६५.३४ प्रतिशत भन्दा माथि छ । तर उच्च शिक्षामा मगरहरु ज्यादै तल छन् । (१.३४) नेपाल मगर संघले मगर युवाहरूको उच्च शिक्षा तथा प्रशिक्षित जनशक्ति तयार गर्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
ग)    मगर जनसंख्या बसोबास गरेको भूभागमा प्राकृतिक स्रोत, खनिज पदार्थ, कृषि, पशुपालन, सञ्चार, यातायात, व्यापार, पुरात्वातिक सम्पदाको यथेष्ट पूर्वाधारहरु छन् ।
घ)     मगर युवाहरुमा (१) उच्चशिक्षा वृद्धि भयो भने (२) प्रशिक्षित मगर युवा जनशक्ति तयार भयो भने (३) मगर समाजमा जनचेतना र जागरुकता आयो भने (४) मगर समाजमा एकवद्धता (Unity)  आयो भने (५) मगरहरू राजनैतिक नेतृत्वको त विकास भयो भने (६) मगरहरू गोलबन्द भएर एउटै भू–भागमा बस्यो भने वर्तमान एकाधिकारवादी समूहको शक्ति बिस्तारै बिस्तारै धरासहित हुने देखिन्छ । अतः मगर समुदायको यस्तो बद्ढो शक्तिलाई समयमा रोक्ने अभिप्रायले एकाधिकारवादीहरुले निम्नलिखित नीतिहरुको कार्यान्वयन गरेका हुन्ः
विभाजन
क) जनसंख्यालाई ३ प्रदेशमा विभाजन गरेर मगर मतदाताहरूको शक्ति घटाइदिने वा कमजोर पारिदिने देखिन्छ । 
ख) मगर जनसंख्या तीन परदेशमा विभाजित हुँदा, स्थानीय संस्कृतिले मगराती संस्कृति माथि अतिक्रमण गर्न सक्दछ । -culture diffusion) भविष्यमा मगराती संस्कृति विस्तारै विस्तारै छ्यासमिस ९ऋचयकक ऋगतिगचभ० र विलय हुने सम्भावना हुन्छ । 
ग)    मगर जनसंख्या विभिन्न ठाउँमा छरिएर र विभाजित भयो भने जातीय पहिचान र चिनारीको कुरा बिस्तारै बिस्तारै लोप हुँदै जाने सम्भावना हुन्छ । 
घ)    यसरी राज्य सञ्चालन गर्ने समूहले नियोजित ढंगबाट शक्तिशाली मगर जनसंख्यालाई विभाजित गर्दै शासन गर्ने नीति अवलम्बन गरेको देखिन्छ ।
मगरात संघर्ष समिति
वि.सं २०६५ माघ १ गते राष्ट्रिय राजनीतिक दलहरुमा प्रतिनिधिहसँग आवद्ध भएर सबै मगर सघं संघठनहरूको संयुक्त मगर मञ्च गठन गरिएको थियो । नेपाल मगर संघको संयोजनमा “संयुक्त मगर संघ” काठमाडौंको खुल्लामञ्चमा “स्वायत्त मगर प्रदेश”को घोषणा गरिएको थियो । यसै क्रममा “नेपाल मगर संघ”बाट विसं २०६७ मंसिर २५ गते तानसेन पाल्पामा ऐतिहासिक “मगरात प्रदेश”को घोषणा गरिएको थियो । “मगररात स्वायत्त गणराज्य” स्थापनाको लागि वि.सं २०८६ माघ ७ गते माननिय सन्तोष बुढा मगरको अध्यक्ष्यतामा दोस्रो साधारण सभा आयोजना गरिएको थियो । सो सभामा माननिय सुर्दशन बराल, मा. वसन्त घर्तिमगर, मा. तुलाराम घर्तिमगर, मा. लुम बहादुर कार्की आदि लगायत १२५ जना मगर तथा गैर मगर बुद्धिजिवीहरूले सहभागिता जनाएका थिए । (दुलर्भ पुन, फे.बु.) 
नेपाल मगर संघले आज पनि यो संघर्षलाई यथावत जारी नै राखेको छ । कारण मगरात भएन भने मगरको पहिचान र चिनारी पनि लुप्त हुन्छ र मेटिन्छ । “मगरात” भएन भने मगरको प्रगति र उन्नति पनि अवरुद्ध हुन्छ । मगरात छ त मगर छन् । मगर छन् त मगरात छ ।
 

Comment As:

Comment (0)