
ह्ङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा
ह्ङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले पीएनजीलाई ८६ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
हङकङको मोङ कोक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो ।
यो जितसँगै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनल प्रवेश गरेको छ । सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन् । आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए । जितसँगै तीन अंक बनाउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालको जितका लागि कुशल भुर्तेलले मात्र १२ रन दिएर चार ओभरमा ४ विकेट लिए । प्रतिश जिसीले २ विकेट लिए । गुल्सन झा र आकाश चन्दले एकएक विकेट लिए ।
पपुवा न्युगिनीका हिरी हिरीले १९ बल खेल्दै सर्वाधिक २८ रन बनाए । सेसे बाउले २१ रन बनाउँदा टोनी उरा १३ रनमा आउट भए । अन्य ब्याट्सम्यान नेपाली बलरसामु टिक्न सकेनन् ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाए । भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए। जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए ।
नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकेस बमले ६ बलमा १४ रन बनाए । विवेक यादव चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बलमा १५ रन बनाए । चार बल खेलका कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए ।
पिएनजीका असाद भालाले २ विकेट लिँदा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १-१ विकेट लिए ।