आठौं एनभिए भलिबलः उपाधिका लागि हेल्प नेपाल र त्रिभुवन आर्मी भिड्ने
आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रवार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दा आर्मीले पुलिसलाई ३–२ को सङ्घर्षपूर्ण तरिकाले हरायो । हेल्प नेपालले गण्डकीमाथि २५–१९, २७–२५ र २५–१९ को विजय रचेको हो । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८–२५, २५–२३, २४–२६, २५–१३ र १५–१३ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । आर्मीका हरि अधिकारी प्लेयर अफ दी म्याच घोषित भए ।
शुक्रवार नै महिलातर्फ भएको तेस्रो स्थानको खेलमा एपिएफले न्यु डायमण्ड स्पोटर्स क्लबमाथि २५–२२, २३–२५, २५–१४, २५–२१ ले जित निकाल्यो । महिलामा नेपाल पुलिस र एभरेष्ट भलिबल क्लबले उपाधि भिडन्त तय गरेका छन् ।
शनिवार महिला र पुरुष दुबैतर्फ फाइनल हुनेछन् । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा महिला र पुरुष तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।