ओझेल भित्रका सचेतना अभियान
No icon

लोभ्याउने भ्यू टावर

घोराहीको गुम्बामा पर्यटक

चन्द्रा थापा मगर

दाङको घोराही बजारदेखि उत्तर पट्टि लगभग ३ किलोमिटरको दुरीमा पर्ने बौद्धको नमः छु गुम्बा घोराही बासीहरुका लागि शान्तिको अनुभुति गर्न सकिने पहिलो  गन्तव्य स्थान बनेको छ  । यो गुम्बा बौद्ध धर्मालम्बीहरुको लागि मात्र नभएर सबै धर्म सम्प्रदायका व्यक्तिहरु पर्यटकका रुपमा आउने मुख्य ठाउँ हो । बुद्धलाई शान्तिको प्रतिकका रुपमा लिइने हदाँ घोराही आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ यो गुम्बा । 
समुन्द्री सतहदेखि केहि उचाईमा पर्ने यस गुुम्बाको अर्काे विशेषता भनेको ६१ फिट अग्लो भ्यु टावर राखिएको हुँदा त्यसबाट घोराही बजार र त्यहाँ वरपरका रमाईला दृश्यहरु राम्रोसँग अवलोकन गर्न सकिन्छ । घोराही उपमहानगर पालिका १८ मयुर डाँडामा पन्ध्र कठ्ठा क्षेत्रफलमा निर्माण  गरिएको गुम्बा घोराहीका मगर संघले २०५८ सालमा स्थापना गरेका हुन् । 
अहिले मानिसहरु खाना र नानाको खोजीमा मात्र छैन आत्म सम्मानको खोजीमा पनि छन् त्यो हो धर्म,त्यसकारण हामी हिन्दु धर्ममा अल्मली रहँदा हाम्रो भाषा, धर्म, संस्कृति भुल्दै जाने आंशकामा आफ्नो भाषा धर्मलाई जर्गेना गर्नु पर्छ भन्ने उद्देश्यले यो गुम्बा स्थापना गरेको बताए  गुम्बाका अध्यक्ष सत बहादुर रोका मगर । 
केही वर्ष पहिलेबाट नेपालमा धर्म सम्बन्धि विवाद भइ रहेको छ । यद्यपी नेपाल हिन्दु राष्ट्र होइन धर्म निरपेक्षता हुनु पर्छ भन्ने टिका टिप्पणी भइ रहदाँ त्यहाँका मगर संघले हामी आदिबासी जनजातिहरु बौद्धिष्ट हौ भन्ने हाम्रो इतिहासले छर्लङ्ग बताइ रहेको छ भने हामीले बुद्ध धर्म मान्न किन कन्जुसाइ गर्ने भन्ने मनस्थितिका साथ स्थापना गरिएको गुम्बा अहिले घोराही उपमहानगरपालिका बासीका लागि गहनाको रुपमा स्थापित भएको छ । 
काठमाडौको स्वयम्भुलाई झै गुम्बालाई विचमा राखेर चौतर्फी मोटर बाटो खोलिएको छ । त्यहाँ आउने बौद्ध दर्शनार्थी र पर्यटकहरुले केही समय स्वर्गको अनुभुति गर्न पाइने हँदा अहिले गुम्बामा आएर रमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । गुम्बा भित्र बुद्धका रङ्गीचङ्गी झण्डाहरु चारै तर्फ हावाको झोक्काले हानेर फर्फराइरहेको देख्दा पर्यटकहरु केही समय हावाको वहेलीसँग रमाएका हुन्छन् । 
पर्यटक लोभ्याउने विशेषता प्युठान राम राजाका मनिराम पुनले कतारबाट ल्याएको १७ फिट अग्लो बुद्धको मुर्ति गुम्बा भित्र सजाइएको छ भने काठमाडौका एकजना नेवार समुदायले लगभग १५÷२० लाख पर्ने सुनको जलप लगाएको अग्लेश्वरी बुद्धको मुर्ति गुम्बामा राखिएको हुँदा गुम्बामा आउने पर्यटकहरु निकै आकर्षक मानेर हेर्ने गरेको देखिन्छ । यसै गरी घोराही १४ का गुम्बा व्यवस्थापक समितिको पूर्व कोषाध्यक्ष स्व. लाख बुढा मगरको स्मृति दिवसमा उनका छोराहरुले स्टुपा भित्र १६ लाख पर्ने मानी राखिदिएको हुनाले गुम्बा भित्र अवलोकन गर्ने पर्यटक र दर्शनार्थीहरुको नजर सिधै स्टुपा भित्र पुगेको हुन्छ ।
गुम्बाको अर्काे विशेषता भनेको मनदिल पुन  भ्यू टावर राखिएको छ । यो भ्यू टावर डेक्स क्षेत्रफल २३५ स्क्वायर फिट र फाउन्डेसन क्षेत्रफल २४० स्क्वायर फिट रहेको छ भने यसको उचाइ ६१ फिट रहेको छ । टावरको भार आयतन १.५  टन रहेको हुँदा एक पटकमा १२ जना सम्म अवलोकन गर्न सक्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सत बहादुर रोका मगरले बताएँ । यो टावर घोराही उपमहानगरपालिका १४ ढोडेनी निवासी समाजसेवी तथा गुम्बाको सल्लाहकार अनरेरी क्या.श्री मन बहादुर पुन र श्रीमती दिलमाया पुन परिवारले रु. चालिस लाख बराबरको लगानीमा निर्माण गरिएको हँुदा मनदिल पुन भ्यू टावर नामाकरण  गरिएको छ । भ्यू टावर निर्माण गर्ने मन बहादुर पुन अहिले हामी माझ नरहे पनि घोराही बासीलाई सधै सम्झनयोग्य छाप छोडेर यस धर्तिबाट विदा हुनु भएको कुरा गुम्बाका अध्यक्षले जानकारी दिए । अहिले  गुम्बाको मुख्य आकर्षणको केन्द्र विन्दु भ्यू टावर नै भएकोले  गुुम्बामा भगवान बुद्धको दर्शन गर्ने लगायत ६१ फिट अग्लो भ्यू टावरबाट घोराही बजारकने मनोरम दृश्यहरु मज्जा लिएर स्वर्गको अनुभुति गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । यद्यपि गुम्बा र भ्यू टावरबाट घोराही बजार अवलोकन गरेर त्यहाँ अन्य प्राकृतिक सौन्दर्यसँग रमाउन पाउँदा मन नै आनन्दित भएको बताउँछन् पर्यटकहरु । 


गुम्बा अवलोक गर्नलाई नेपालका विभिन्न जिल्लाबाट बाँके, बर्दिया, कंचनपुर, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, नवलपरासी, चितवन लगायत बेलाबेला विदेशी पर्यटक पनि आउने गरेका छन् । 
यद्यपि भगवान बुद्धको नियम अनुसार बेलाबेला गुम्बामा पाठपूजा हुने हुँदा झापाबाट भक्तबहादुर तामाङ गुरुलाई लिएर राखिएको छ । यस गुम्बालाई  पश्चिमाञ्चल क्षेत्रको बौद्ध धर्म नमूना केन्द्र बनाई धार्मिक पर्यटन विकासको रुपमा लैजान सकियो भने लुम्बिनीमा बुद्धको दर्शन गर्न आउने विदेशी पर्यटकहरुलाई सजिलै गुम्बामा आगमन गराउन सकिन्छ भन्ने गुम्बा व्यवस्थापन समितिले आंकलन गरेका छन् ।  

Comment As:

Comment (0)