ओझेल भित्रका सचेतना अभियान
No icon

पाल्पा दाड्डसिघामा होमस्टे संचालन गरि गाउँका उत्पादनलाई गाउँमै खपत गर्ने सोंच

 चन्द्रा थापा मगर

पाल्पा जिल्ला वगनासकाली गाउँपालिकाको यम्घामा पर्ने दाङ्गसिंघा गाउँ अति मनोरम दृश्यले भरिपूर्ण छ ।  यो गाउँमा घुम्न आउने जो कोही व्यक्तिको पनि मन लोभिनु स्वभाविकै हो । 
पाल्पामा विभिन्न पर्यटकीय सम्भावना बोकेको ठाउँ र थुप्रै पर्यटकीय स्थलहरु भएकोले मैले कपीमा कोरेर परिचित गराइरहनु पर्दैन जिल्लाको नामै काफी छ र  पाल्पा आफैमा प्रसिद्ध एवम् परिचित जिल्ला हो । त्यसकारण मैले पाल्पा वगनासकाली वडा न.६ को दाङ्गसिंघा गाउँलाई मात्र समेटी कपीको पानामा  उतार्ने प्रयास गरेको छु ।
तानसेनको बर्तुङबाट चिलाङदी हँुदै मोटर बाटोको उकालो लागेपछि गोपालदी,बराङदी ,लिधिनडाँडा, चापपानी, गेजा, दरुंगाडाँडा,चुनरडाँडा हँुदै दाङ्गसिंघा गाउँ पुगिन्छ । यो गाँउमा थोरै पक्कीबाटो भए पनि धेरै कच्ची बाटाहरु रहेका छन् ।
त्यहाँ लगभग ६०/६५ घर धुरी भएकोले ९५ प्रतिशत मगरहरुको बाहुल्यता रहेको बस्ती हो । त्यहाँका  बालबालिकाहरुले पढ्ने कक्षा ४ सम्मको कानुङ प्राथमिक विद्यालय रहेको हुनाले विद्यालयमा अध्यापन गराउने ४ जना शिक्षिका मध्ये प्रधानध्यापक पनि शिक्षिका लिला बराल मगर नै रहेकी छिन् । यो गाउँका अधिकांश मगरहरु मगरभाषा  बोल्नेहुँदा  त्यहाँको वनपाखा बस्तीहरुको नाम पनि मगरभाषा मै रहेको पाइन्छ जस्तैः चिलाङदी, बराङदी, लिधिन डाँडा, गेजा, दरुंगाडाँडा, दाङ्गसिंघा जस्ता थुप्रै ठाउँको नाम लगायत स्कुुलको नाम पनि कानुङ  प्रा.वि. नै रहेको छ ।  त्यो गाउँको  व्यक्तिहरुको मुख्य पेशा कृषि नै भएकोले उत्पादन मकै, कोदो, फापर, पिँडालु, बेसार लगायत विशेष गरी अदुवा खेतीबाट बढी आम्दानी गरेको पाइन्छ ।  त्यहाँका किसानहरु मिलेर बर्षेनी लगभग ८/१० लाखको अदुवा विक्री गर्ने गरेको स्थानीय बासिन्दा एवम् शिक्षक खिम बहादुर कवँरले बताए । 


दाङ्गसिंघा गाउँमा पुरानो पुस्ताका दुई चार जना व्यक्तिहरु भारतीय सेनामा लाहुरे  थिए भने अहिलेका युवाहरु बैदेशिक रोजगारीमा गएका छन् । २०४२  साल तिर केही प्रोजेक्टहरुले खानेपानीको व्यवस्था गरिदिए पनि सफल हुन सकेन त्यसकारण ५४/५५ साल तिर फिनल्याण्ड प्रोजेक्टबाट खानेपानी ल्याए पनि त्यहाँका नागरिकहरुलाई पानीको समस्या अहिले पनि ज्यूँका त्यूँ छ । अरु गाउँमा एकघर एक धारा छ भने त्यहाँका  गाउँलेहरु एक घर एक गाग्रो पानी पालैपालो भर्ने गर्दछन् । 
त्यहाँका स्थानीय शिक्षक खिम बहादुर कवँरले खानेपानीको लागि उपभोत्ता समितिको अध्यक्षसँग कुुरा गर्दै आएकोले पानीको समस्या समाधान भयो भने दाङ्गसिंघा गाउँमा होमस्टे सञ्चालन गर्ने सोँच बनाएका छन् । गाउँदेखि माथि डाँडामा समथर परेको भाग छ त्यहाँ कालीगण्डकीबाट ल्याउँन लागिएको  पानी ट्याङ्की, नेपाल टेलिकमको टावर राखिएको रहेछ । त्यहाँबाट  चारै तर्फ विभिन्न जिल्लाहरु र हिमालका मनोरम दृश्यहरु सजिलै नियाल्न सकिन्छ । जस्तै पाल्पा जिल्लाको विभिन्न भाग, गुल्मी, पर्वत, स्याङजाको प्रकृतिसँग  रमाउँँँन र प्रकृतिलाई नजिकबाट नियाल्न चाहाने पर्यटहरुका लागि दाङ्गसिंघा गाउँ निकै उत्कृष्ट मानिन्छ । योे जिल्लाको विभिन्न ठाउँहरु ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले आफैमा भरिपूर्ण छ । 
पाल्पाको विभिन्न ठाउँमा घुम्न  आउने पर्यटकहरुलाई दाङ्गसिंघा गाउँमा पनि पर्यटकको रुपमा भिœयाउँन सकियो भने त्यहाँका नागरिकहरुको जीवनस्तरमा आर्थिक उन्नतीले ठूलो टेवा पुग्न सक्ने स्थानीयवासीहरुको एकमत रहेकोछ । गाउँमा होमस्टे सञ्चालन गरेर आफ्नै गाउँमा उत्पादन भएका खाद्य तथा अन्य वस्तुहरुलाई प्रयोगमा ल्याई गाउँमै खपत गर्ने सोँच लिएका छन् शिक्षक खिम बहादुर कवँरले । कृषिमा आधारित गाउँलेहरुलाई कृषि एवम् सास्कृतिक पर्यटनसँग जोडेर माथि उठाउँन सकिने कुरा पनि कवँरले जानकारी दिए । 
होमस्टेमा आउँने पर्यटकहरुका लागि कालीगण्डकीबाट पानी ल्याइ सुइमिङपुल र बोटिङ्गको व्यवस्था गर्नुका साथै पाल्पा जिल्लाको विभिन्न पर्यटकीय स्थलहरु रानीमहल, कालीगण्डकी पावर हाउस,आलमदेवी लगायत यस्ता थुप्रै पर्यटकीय स्थलहरुका लागि टुर प्याकेजमा लाने सोँच शिक्षक खिम बहादुर कवँरले गरेका छन् ।
मगर मौलिक संस्कृति तथा सम्पदाले उत्कृष्ट मानिने पाल्पा जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकीयहरुको आगमन गराउन सकियो भने यो दाङ्गसिंघा गाउँले समृद्धिमा फड्को मार्न सक्ने सम्भावना  रहेको देखिन्छ । 
 

Comment As:

Comment (0)