ओझेल भित्रका सचेतना अभियान
No icon

शुद्धोधन गाउँपालिकामा रोजगार गुमेका युवा जनशक्तिलाई कृषिमा अनुदान 


चन्द्रा थापा 
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउनको समय आज दुई महिना भन्दा बढी भइसकेको छ । यो अवस्थामा उद्योग व्यापार व्यवसाय देशमा थप्प छन् । आज लाखौ व्यक्तिहरुकोे रोजगार गुमेको अवस्था छ । छिमेकीमुलुक भारत तथा अन्य मुलुकमा  रोजगारका लागि गएका नेपाली युवाहरु गाउँ फर्कदैछन् यसबाट मजदुर श्रमिक तथा व्यवसायीहरु बढी मारमा परेका छन् । केहीँ ठाउँमा किसानहरुले उब्जाएको तरकारी तथा फलफुल सडाएर फाल्नु परेको अवस्था छ । यो विषम परिस्थितिको अवस्थामा रुपन्देही शुद्धोधन गाउँपालिकाको  अध्क्षय किशुुनचन्द्र चौधरीले त्यहाँका नागरिकहरुसँग कसरी समन्वय गरेर काम गरिरहेका छन् यसै विषयमा अध्यक्ष किशुनचन्द्र चौधरीसँग गरिएको छोटो कुराकानी ः–


यो लामो समय लकडाउनको अवस्थामा त्यहाँका नागरिकसँग कसरी समन्वय गरेर काम गर्दै आउनु भएको छ ?
     अहिलेको यो अवस्थामा यहाँका अति विपन्न वर्गका नागरिहरुलाई राहत वितरण कार्य भइरहेको छ र ५ वटा वडामा क्वारेन्टाइन निर्माण साथै किसानहरुको  दुग्ध पदार्थ तरकारी सहकारी मार्फत बजार व्यवस्थापन गर्ने तथा किसानलाई मल विउविजनको व्यवस्था गर्नुका साथै,  सामाजिक दुरी कायम राखी खेती बाली लगाउन सल्लाह सुझाव दिने लगायत अहिले भारतबाट गाउँपालिका फर्केका नागरिकहरुलाई क्वारेन्टाइनमा राखी आवश्यक चेक जाँच गर्ने  विभिन्न कार्यमा जुटेका छौ ।

 
किसानले उत्पादन गरेको  तरकारी सहकारी मार्फत बजार व्यवस्थापन त भन्नुभयो कुन कुन सहकारीले कहाँ कहाँ वितरण गरेका छन् ?
     हाम्रा किसान दाजुभाइहरुले उत्पादन गरेको तरकारीहरु अहिले कोटिहवा जनउत्थान कृषि सहकारी संस्था तथा यसै गाउँपालिका वडा नं. १ वेल्वा कृषि सहकारी संस्था मार्फत  बजार व्यवस्थापन गरेका छौ । यो गाउँपालिका पनि  प्रधान मन्त्री आधुनिक कृषि कार्यक्रम  लागु भए पछि १ हजार विघाहमा कृषकहरुले तरकारी खेती गरेका छन् । त्यसकारण प्रशस्त मात्रामा तरकारी उत्पादन हुने हुँदा अहिले यो लकडाउनको अवस्थामा पनि गाउँपालिकाको सिफारिस लिएर सहकारी मार्फत बुटवल, भैरहवा र पाल्पाको तानसेन बजारसम्म तरकारी पु¥याएको अवस्था छ । 
अहिले लकडाउनको अवस्थामा  त्यहाँ विपन्न वर्गका कति घरपरिवारलाई कति रकम बराबरको राहत वितरण गर्नुभयो ?
   हाम्रो गाउँपालिकामा  विपन्न वर्गका परिवार त कमै छन् । हामीले पहिलो चोटी ९ सय २५ घरधुरीलाई एकै पटक  वितरण गरेका थियौ, कतिपय  सम्पन्न परिवारका व्यक्तिले पनि राहत लिने गरेको हुदाँ यसरी वितरण गर्दा केही दुरुपयोग भएको कारण अब कुनै पनि विपन्न वर्गका व्यक्तिले खान नपाएको अवस्था छ भने प्रत्येक वडाको टोल विकास संस्थाका पदाधिकारीहरुलाई निवेदन दिएर निवेदन अनुसार टोल विकास संस्थाले  वडामा फोन गरेको १ घण्टा भित्र विपन्न वर्गको घरघरमा राहत पु¥याउने भन्ने निर्णय गरे अनुसार अहिले वडा बाटै घरघरमा राहत पुगिरहेको छ । राहत सहयोग गर्ने सस्थाहरु रुपन्देहीको टाइगर बुररी इण्डष्ट्रिजका सञ्चालक राजेन्द्र खड्काले १० टन ( १००) बोरा चामल सहयोग गर्नु भएको थियो भने कृषि सहकारी सस्थाहरुले रु २ लाख अनुदान साथै पोल्ट्री फर्मले १० कुइन्टल चामल लगायत अन्य संघ संस्था र व्यक्तिकहरुबाट पनि सहयोग आएको थियो । त्यसमा अपुग भएको गाउँपालिकाले खर्च गरेको छ साथै लामो समय सम्म लकडाउन भएको कारण अझै पनि राहत वितरण कार्य भइरहेको हुनाले खर्च विवरण भने आउन बाँकी नै छ । 
   हाल  छिमेकी राष्ट्र भारतबाट  रोजगारमा गएका व्यक्तिहरु फर्कने क्रम जारी छ, यहाँको गाउँपालिकामा पनि कति जना व्यक्तिहरु आइसकेका छन् र अझै आउन कति बाँकी छन् केही तथ्याङ्क संकलन गर्नु भएको छ कि छैन, ती आएका व्यक्तिहरुलाई कहाँ कसरी व्यवस्थापन गर्नु भएको छ ? 
     हामीले गाउँपालिकाको ५ वटा वडामा क्वारेन्टाइन बनाएका छौ, ती वडाहरु वडा नं. १ मा सिसइ, २ मा वनगाई मा.वि.,३ र ४ मा यज्ञजय दुधनाथ थारु बहुमुखी क्याम्पस, ५मा भगलापुर मा.वि. ६ र ७ मा बुरौलीया मा.वि यी ठाउँमा भारतबाट आउने व्यक्तिहरुलाई कम्तिमा १४  र बढीमा २२ दिन क्वारेन्टाइन राखेर आर.डि.टी.चेक गरी नेगेटिभ आएका ४६,२२,३६ गरी १ सय चार जनालाई घर पठाइ सकेका छौ । अहिले पनि लगभग ६० जना भन्दा माथि क्वारेन्टाइनमै रहेको हुनाले हामी सबै व्यवस्थित गरेर राखेका छौ । अझै पनि भारतबाट  आउनेक्रम जारी रहेको हुनाले  छ  सुनौली नाका, कृष्णनगर नाका र नेपालगञ्ज नाकामा आएकाछौ गाडी पठाइदिनुहोस् भन्दै फोन गरेका छन् यो जोखिमको बेला एम्बुलेन्सले पनि लिन जान नमाने पछि केही समस्या भएको छ । 
      यति बेला  भारतबाट युवाहरु फर्कने क्रम जारी छ त भन्नुभयो, अन्य देशबाट पनि युवाहरु फिर्ता ल्याउने भन्ने कुरा छ अब यो युवा जनशक्तिलाई गाउँपालिकाले  कसरी व्यवस्थापन गर्ने सोँच बनाउनु भएको छ ?
       यो शुद्धोधन गाउँपालिका कृषिक्षेत्रका लागि उर्वर भुमि मानिन्छ । अब वैदेसिक रोजगारमा गएका लाखौ युवाहरु नेपाल फर्के भने उनीहरुलाई धान्न सक्ने अन्न उत्पादन गर्नु पर्छ भन्ने हाम्रो सोँच हो । यो गाउँपालिकामा जुनसुकै व्यक्तिले पनि कृषि गरेर अन्न उब्जनी गर्छु भन्छ , पशुपालन गरेर दुग्ध पदार्थ उत्पादन वा अन्य कुनै कृषिसँग सम्बन्धित व्यवसाय गर्छु भन्छ भने  गाउँपालिकाले कति अनुदान दिएर सहयोग गर्नु पर्छ त्यो व्यवस्था मिलाएर अबका युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउँने सोँच लिएका छौ किन भने यो कोरोना भाइरसको लकडाउनले स्वदेशी  वस्तुको प्रयोग बढाउँने र युवाहरुको श्रम शक्तिलाई नेपालमै रोक्न सक्नुपर्छ भन्ने बुझाएको छ साथै कृषि नै संसारमा उत्तम कर्म रहेछ  भन्ने पाठ सिकाएको छ ।

       यो विषम परिस्थितिको समयमा दिनहुँ नागरिकको काममा जुटिरहदा कतिपय गाउँपालिका अध्यक्ष समेत संक्रमित भएका छन् , यहाँले आफुलाई कतिको सुरक्षित ठान्नुभएको छ ?
       म भन्दा पनि सम्पूर्ण नागरिक सुरक्षित रहनुपर्छ भन्ने लाग्छ । आजसम्म यो गाउँपालिकामा सबै सुरक्षित छौ अब भने हाम्रै गाउँपालिकामा भारतबाट लुकीछिपी आएका व्यक्तिहरु धेरै छन् त्यसैले अब भने अझ सावधानी अपाउनु पर्छ भन्ने लागेको छ ।

Comment As:

Comment (0)