ओझेल भित्रका सचेतना अभियान
No icon

माराङ चलचित्र मगर समुदायका  नयाँ पुस्तालाई दस्तावेज सावित हुनेछ

 

पाल्पा जिल्ला वगनासकाली गाउँपालिकामा जन्म भइ हाल बुटवल ११ मा स्थायी बसोबास गर्दै आएका तुल बहादुर सारु नेपाली मौलिक मगर भाषा इतिहासको पहिचान बोकेको चलचित्र माराङका निर्माता हुन् । उनी थुप्रै संघसंस्थामा आबद्ध भएर सामाजिक कार्यमा आफ्नो पहिचान बनाइसकेका छन् । जस्तै ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको पूर्व अध्यक्ष साथै बुटवल ११ एम.जी.क्लबको निवर्तमान संस्थापक अध्यक्ष तथा  सफल व्यवसायी का साथै सामाजिक कार्यमा अग्रसर, सशक्त, होनाहार, जुझारु एवं बौद्धिक सोंच भएको युवा व्यक्तित्व तुल बहादुर सारु मगरसँग चलचित्र माराङ सम्बन्धि हाम्रो गोरेटो राष्ट्रिय मासिक तथा गोरेटो अनलाइनका लागि कार्यकारी सम्पादक चन्द्रा थापा ले गरेको छोटो कुराकानीः–
तपाईको माराङ चलचित्र कहिले सम्म रिलिज हुन्छ ?

यो चलचित्र माराङको छायाङ्कन सबै पूरा भई सकेको हुनाले अब यही मंसिर २४ र २५ गते बुटवलको कालिका चलचित्र हलमा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि सहयोग स्वरुप च्यारिटी शो सुरु हुँदैछ साथै हामीले मंसिर २३ गते प्रचार–प्रसारको लागि पत्रकार सम्मेलन गरी चलचित्रका कलाकार भाईबहिनीहरुलाई सम्मान कार्यक्रम पनि राखेका छौं ।

तपाईले यो माराङ चलचित्रको निर्माता बन्ने सोँच कसरी बनाउँनु भयो ? 

मैले चलचित्रमा लगानी गरेको  कमाउने उद्देश्यले होेइन, हाम्रो मगर समुदायको लागि यो चलचित्र मार्फत पनि आफ्नो भाषा संस्कृति र रितिरिवाजलाई बचाउँन केही टेवा पुग्छ की भन्ने उद्देश्यले मगर समुदायको कल्चरलाई जस्ताको तस्तै प्रदामा उतार्ने प्रयास मात्र गरेको हो  यसबाट आफ्नो संस्कृति र पहिचानलाई बचाएर राख्न सकियो भने पछिका पुस्ताले पनि देख्ने छन् र त्यसबाट केही सिक्न सके भने चलचित्र माराङले मगर समुदायलाई राम्रो  सन्देश दिन सक्ने छ भन्ने आशाले चलचित्र माराङमा लगानी लगाएको हो ।

तपाईको माराङ चलचित्र रिलिज नहुँदै “डेछो डाली डुङम कानुङ इमाङ” भन्ने एउटा गीत दर्शकहरुले अत्याधिक रुपमा मन पराएर टिकटकदेखि सांस्कृतिक कार्यक्रमहरुमा बजिरहेको हुन्छ यो गीत दर्शकले मन पराउँनुको कारण र गीत अनुसार कथावस्तु कस्तो छ ?

यो माराङको गीतलाई दर्शकहरुले अत्याधिक रुपमा मन पराइदिनु भएकोमा हामी सा¥है खुशी पनि भएका छौ । मन पराउँनुको कारण भाषा बुझ्नेलाई  शब्दहरु निकै मार्मिक भएकोले हरेक कार्यक्रममा गीत बज्नु र  थुप्रै टिकटक बनाउनु गीतको प्रभाव पर्नु हो । साथै  मगरहरुको गीत कौडा र झ्याउरे मात्रै भएकोले यो गीतलाई फरक मान्नु स्वाभिकै हो । यसमा कथावस्तु र गीत मिल्नु प्रमुख कारण हो की जस्तो लाग्छ ।

 यो चलचित्र हेरेपछि आम दर्शकले के सन्देश पाउन सक्छन् र के कुरा बुझ्न सक्लान् ?

यसबाट धेरै कुरा जान्न र बुझ्न सकिन्छ किन भने मगर समुदायको कल्चरहरु अहिलेका पुस्तालाई केही थाहा छैन । हाम्रो बाबु बाजेले भनेका आधारमा हामीले सुन्दै आएका थियौ भने यो चलचित्र हेरे पछि कल्पना गर्न नसकिने सयौं वर्ष पूरानो हामी मगरको रितिरिवाज, भाषा सस्कृतिलाई चलचित्रमा प्रत्यक्ष देख्न र अनुभुति गर्न पाउनेछन् । साथै मगर संस्कृतिलाई चलचित्रको कथावस्तुमा बाँधेर राख्न सकियो भने भोलिका दिनहरुमा नयाँ पुस्ताले पनि चलचित्रको माध्यमबाट मगर समुदायका रितिरिवाजलाई देख्न सक्नेछन् र नयाँ पुस्ताका लागि एउटा दस्तावेज सावित हुन सक्नेछ भन्ने मलाई लागेको छ । 

यो चलचित्र सयौ वर्ष पहिलाका मगर संस्कार, संस्कृतिको कथा वस्तु समेटिएको हुन सक्छ भन्नु भयो के रहेछ त्यस्तो छोटकरीमा बताइदिनुहोस् न ?

खास गरी भन्नु पर्दा मगर भाषा, संस्कृति कै कुुरा आउँछ । पहिले मगरहरुले विहे गर्दा आफ्नै संस्कार, संस्कृतिमा गर्थे भने अहिले  अर्कै संस्कृतिमा ढल्की सकेको अवस्था हामीले पाएका छौ, अर्काे कुरा नाँच गाँन पनि कौरा नाँच भन्ने शब्दलाई “कान राहा” भन्ने थियो(हामी आयौ है) भन्ने मगर भाषामा  अहिले कौडा भनिन्छ । यस्ता शब्दलाई स्पस्ट पारेका छौ । यसै गरी घाँटु नाँच साथै त्यति बेला चण्डी पूर्णिमामा नचाउँने, भुरुङ नाँच लगायत यस्ता थुप्रै रितीरिवाजहरुलाई समेतेर चलचित्र बनाएका छौ । 

चलचित्र माराङ नेपालको कुन कुन ठाउँमा छायाङ्कन गर्नु भएको छ ? ती ठाउँहरुमा छायाङ्कन गर्नुको उद्देश्य के हो ?

चलचित्रमा हामीले मगर संस्कृतिको विषयमा फिल्म बनाउँन खोजेका हौं तर बजारलाई देखाएर त हुँदैन । त्यसैले पाल्पाको निस्दी गाउँपालिकाको झाल्ठुङ्ग डाँडा, काउले डाँडामा यो चलचित्रका लागि उपयुक्त अति रमणीय दृश्यहरु र मगर वाहुल्यता भएको बस्ती तथा पुराना संस्कृति झल्किने कुडुले घरहरु भएको र त्यहाँका मगरहरुले विवाह वर्ग, चाँडवाड, आजा पूजा लगायत अन्य संस्कार पनि पहिले कै मगर रितिरीवाज अनुसार  अगाल्दै आएको  हुनाले त्यहाँ पुगेर छायाङ्कन गरेका हांै । साथै कौडा गीत तनहँुको रिसिङ गाउँपालिकाको पल्टेङ गाउँबाट उत्पत्ति भएको सुन्नमा आएकोले यो चलचित्रको कौडा गीत तँनहुमा गएर छायाङ्कन गरेका छांै । यसमा चलचित्रको कथावस्तुले  मागेको भएर हामीले पाल्पा, तँनहु र काठमाडौ गएर छायाङ्कन गरेका हौ । 

तपाईको चलचित्रको गीत चर्चामा आउदै गर्दा यो माराङ फिल्म कस्तो होला भन्ने आम दर्शकको मनमा कौतुहलता जागेको छ  ठ्याक्कै बुँदागत रुपमा भन्नु पर्दा कुन कुराले दर्शकको मन छुन सक्ला ?

पहिलो कुरा फिल्मको नाम के हो ? यसको अर्थ बुझ्न जरुरी छ , माराङ भनेको (खुशी) हो भने खुशीमा मगर समुदाय भित्र यस्तो गर्दा रहेछन् भन्ने खुल्नमा आए पनि माराङ फिल्म हेर्दा अन्य समुदायले मगर भाषा नबुझे पनि हेरेर  कथाको विषय वस्तुबाट छर्लङ्ङ  देख्न र बुझ्न सक्नेछन् । अर्काे कुरा जस्तै हामीले टि.भि मा डिस्कभरी च्यानल हेर्दा त्यहाँको सीन् लगायत बाहिरी कल्चरहरु अचम्म मान्ने खालका देखिन्छ भने यो माराङ चलचित्रबाट पनि दर्शकहरुले  मगरहरुको पुराना कल्चरहरु देख्न पाउने छन् । किन भने एक दशक भन्दा बढी यसै क्षेत्रमा अनुभव भएको निर्देशक बुद्ध्या सुनारीले निकै मिहनेत गरेर यो चलचित्र बनाउनु भएको छ । 

यो चलचित्रमा लगानी कति गर्नु भएको छ र लगानी उठ्ला भन्ने कत्तिको विश्वास लिनुभएको छ नि ?

हेर्नुस् फिल्महरु धेरै किसिमका हुन्छन् । त्यसमध्ये यो एक फरक किसिमको मगर सस्कृतिमा आधारित चलचित्र हो , लगानी नउठोस् भन्ने सोँच त कसैको पनि हुदैन तर यसबाट उठेको केही रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि सहयोग गर्ने सोंच पनि बनाएको छु । तर लगानी नउठे पनि यो माराङ चलचित्रबाट आम मगर समुदायमा राम्रो सन्देश दिन सकियो भने म त्यसमा सन्तुष्टि र खुशी हुनेछु । अर्काे कुरा लगानी ५० लाख माथि क्रस भइ सकेको छ , यसमा निर्देशक देखि क्यामरा म्यान,गायक गायिका लगायत सम्पूर्ण कलाकारहरुले आ–आफ्नै  तरिकाले सहयोग गर्नु भएकोले जति लगानी लाग्नु पर्ने हो त्यसमा केही कम हुँदा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिन चाहन्छु । 

तपाई यो भन्दा पहिला पनि एउटा चलचित्रमा अभिनय गरिसक्नु भएको छ आगामी दिनमा फिल्म क्षेत्रमै लाग्ने सोंच बनाउनु भएको छ कि ?

पहिला म साह्रै नाजुक अवस्थाबाट गुज्रेर आज यो अवस्थामा आइपुग्दा मेरो नजिकको मित्र दिपक सिहले मेरै कथावस्तुमा आधारित ‘सफलता’ नामको फिल्म बनाउनु भएको थियो र अबका दिनमा यो माराङ्ग चलचित्र हेरेर दर्शकहरुले कतिसम्म मन पराउनु हुन्छ त्यसमा भर पर्दछ । मगर समुदाय र यो समाजलाई राम्रो सन्देश दिने यस्ता चलचित्रहरु फेरी पनि बनाउन पर्छ भन्ने सुझाव आयो भने अवश्य पनि म लगानी लगाउन तयार छु । 

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

अन्त्यमा यो चलचित्र गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोग स्वरुप भएको हुनाले तुलरुपा सारुको मात्र नभएर तपाई, हामी सबैको हो भन्ने सोंचले यही मंसिर २४ र २५ गते बुटवल कालिका चलचित्र हलमा च्यारिटी शो हुने भएकोले सबै जनालाई उपस्थित भइदिनुहोला भन्ने अनुरोध गर्दै सल्लाह, सुझावको पनि अपेक्षा गर्दछु । 
 

Comment As:

Comment (0)