ओझेल भित्रका सचेतना अभियान
No icon

मन्त्रीदेखि ड्रागन फ्रुट कृषि व्यवसायसम्म ः लोकेन्द्र विष्ट 

चन्द्रा थापा,     
पञ्चायतकालमा विद्यार्थी जीवन देखि राजनीतिमा लागेका पुर्व मन्त्री लोकेन्द्र विष्ट मगरको चार दशक लामो राजनीतिक यात्रामा कतै दुःख त कतै रमाईला स्मरणका क्षणहरु  रहेका छन् । विष्ट राजनीतिमा होमिदा जेल जीवन देखि जनयुद्धका लडाई र शान्ति प्रक्रिया पछि दुई पटक सांसद हुँदै २०६७ सालमा स्वास्थ्य मन्त्री  तथा २०६८ मा पर्यटन मन्त्री सम्म भएका थिए  ।

उनले जनता र पार्टीको लागि  थुप्रै योगदान गरे पनि पछिल्लो समय राजनीतिमा भ्रष्टाचार मौलाउँनुका साथै राजनीति सबै पार्टीका नेताहरुको आजीवन पेशा र व्यवसाय बनेको देख्दा विष्टलाई पटक्कै चित्त बुझेन र उनी अहिले राजनीतिबाट टाढा रहेर ड्रागन फ्र्रुटको आफ्नै कृषि व्यवसायमा लागिरहेका छन् । जनयुद्धमा बन्दुक समाएको हातले अहिले कुटो कोदालो समाउन उनलाई कत्ति पनि अप्थ्यारो लाग्दैन ।

 

    विष्टले राजनीति गर्दादेखि नै जीवनको कालखण्डमा एकपटक यो ड्रागन फ्रुटको खेती गर्ने  सोँच बनाएको हुनाले लामो राजनीतिक यात्रालाई यही पूर्णविराम  लगाएर अब कृषि क्रान्ति गर्ने अठोट  लिएका छन् ।  ३ विघा ६ कट्ठा क्षेत्रफलमा थाइल्यान्डबाट विरुवा ल्याएर सात हजार भन्दा बढी ड्रागन फ्रुटका विरुवा लगाएका विष्टले अब म कृषिसँग युद्ध गरेर कृषि क्रान्ति गर्छु , यी ड्रागन फलका बिरुवाहरु सेना हन् भने म कमाण्डर हँु भन्दै पिलरसँगै ठडिएका ड्रागन फ्रुटका विरुवालाई देखाउँदै भने । पुर्ख्याउली घर रुकुम भए पनि हाल दाङको तुल्सीपुरमा बस्दै आएका मन्त्री विष्टको ड्रागन फर्म घोराही  तुल्सीपुर सडकखण्ड  छेउको विजौरीमा पर्ने हुँदा सडकमा यात्रा गर्ने जो कोहीको पनि फर्ममा नजर पुगेको हुन्छ । यद्यपी धेरै जसो संघ संस्था तथा  विष्टका राजनीतिक सहयात्री साथीहरु लगायत अन्य व्यक्तिहरुले पुर्व मन्त्री लोकेन्द्र विष्टको ड्रागन खेती हेर्ने भन्दै यातायातका साधन रोकेर दिनहुँ फर्मलाई नियाल्नेहरुको घुइँचो नै लागेको हुन्छ । यो फर्म तीन जनाको साझेदारीमा एक करोडको लगानीले सञ्चालन गरेका छन् । ड्रागन फ्रुट ३ प्रजातीको भए पनि विष्टको फर्ममा अहिले बाहिर रातो भित्र पनि रातो र बाहिर रातो भित्र सेतो भएको दुई प्रजातीको मात्र छ । यसको खेति तराईको भित्री मधेश तथा समुन्द्र सतहबाट  ५०० देखि१००० मिटर उचाईसम्मको क्षेत्रमा पानी नजम्ने सुख्खा ठाउँमा व्यवसायीक रुपमा गर्न सकिने कुरा विष्टले बताएका छन् ।  विरुवा लगाएको २ देखि तीन वर्ष भित्र फल्ने भए पनि विष्टको फर्ममा दुई वर्ष नपुग्दै फल्न थालेको छ । ड्रागन फ्र्रुटले फल दिने समय जेष्ठ महिनाबाट शुरु गरेर असोज भित्र पाकिसकेको हुन्छ । वर्षमा एक सिजनमा मात्र फल दिने हुँदा यसलाई मल, जल,कटिङको राम्रो व्यवस्था भयो भने २० देखि २५ वर्षसम्म निरन्तर यसको फल्ने अवधि हुने विष्टले बताए ।

ड्रागन फ्रुटको मुल्य राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा महङ्गो भए पनि पुर्व मन्त्री विष्टले अहिले भियतनामबाट फल ल्याएर होलसेल सात सय र फुटकर मुल्य सातसय पचास रुपयाँ प्रति केजी विक्री गर्दै दाङ जिल्लाबासीलाई ड्रागन फ्र्रुटको नौलो स्वाद चखाई सकेका छन् । धेरैजसोले यसको फल कस्तो हुन्छ भन्ने प्रश्नमा भियतनामबाट ल्याएर फल  चखाउनु परेको बाध्यता बताएका थिए । भोलि आफ्नो फर्ममा वृहत रुपमा उत्पादन भए पछि स्थानीय तथा अन्य व्यक्तिहरु  यो फल खान फर्ममा लर्काे नै लाग्ने कुरा पुर्व मन्त्री विष्टको दावी छ ।  उनले व्यवसाय गरेको देखेर दाङ जिल्लामा अरुले पनि यो व्यवसाय सञ्चालन  गरेको  पाइन्छ । आफ्नो फर्ममा ड्रागनको विरुवा खोज्न आउनेलाई अरु ठाउँमा महङ्गो भए पनि बाहिरबाट ल्याएर दुई सय देखि तीन सय सम्म प्रति पीस विक्री गर्ने गरेका छन्् किन भने कृषि व्यवसाय गरेर खान्छु भन्नेलाई सहुलियत दिनु पर्छ भन्ने उनको सोचाई छ । यति मात्र होइन विष्टले २०७२ सालबाट कालो धानको खेति पनि गर्दै आएका छन् । योे कालो चामलले पनि मानिसलाई विभिन्न रोगहरु निवारण गर्ने हुदा यो धानको खेति गरेको कुरा जनाएका छन् । ती उजाड ठाउँलाई  कृषि व्यवसाय गरेर हरियाली बनाएको देख्दा दाङ जिल्लावासी दंग पर्नुका साथै कतिपयले उनको सिको पनि गर्न थालेका छन् ।  कृषिमा एउटा उदाहरणीय पात्र पनि बनेका विष्टले  देशको अर्थतन्त्रलाई मजबुत बनाउँने हो भने राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिएर किसानलाई विनाधितो ऋण उपलब्ध गराई देशलाई समृद्धिको बाटोमा लान आग्रह गरेका छन् 

नेपालकाे समृद्धिका लागि कृषिलाई पर्यटनसँग जोडेर एग्रो टुरिजम बनाउन अावस्यक 


पुर्व मन्त्री लोकेन्द्र विष्टसँग ड्रागन फ्रुट कृषिसम्बन्धि हाम्रो गोरेटोका लागि कार्यकारी सम्पादक चन्द्रा थापाले गरेको कुराकानीको सारसंक्षेप ः

 

तपाइ राजनीतिमा लागेर दुई पटक मन्त्री भइसक्नु भएको व्यक्ति यो कृषि व्यवसायमा लाग्ने मनसाय कसरी बनाउनु भयो ? 


पहिलो कुरा राजनीति आजीवन ठेक्का पट्टा र पेशा व्यवसाय होइन,राजनीति भनेको आवधिक निस्वार्थ निःशुल्क समाज सेवा हो,मैले ४० वर्षसम्म राजनीतिमा बिताए अब पनि राजनीतिमा  लिप्त भइरहनु पर्ने जरुरी  देखिन किन भने पहिलो कुरा राजनीतिमा भ्रष्टाचार मौलायो, दोस्रो राजनीति महङ्गो हुनुका साथै रहस्यात्मक र षडयन्त्रमुलक भयो, तेस्रो राजनीति र अपराधको बीचमा नजिकको साइनो जोडियो र राजनीति के हो ? तथा  अपराध के हो ? भन्ने छुट्याउनै गाहे भयो, चौथो कुरा राजनीति सबै पार्टीका  नेताहरुको आजीवन पेशा र व्यवसाय बनेको हुनाले यी कुराहरु मन परेन र म राजनीतिबाट टाढा रहेर जीवन जिउनलाई यो व्यवसायतिर लागेको हो ।

 
व्यवसायहरु  त थुप्रै थिए यो ड्रागन फ्र्रुट व्यवसायलाई नै किन रोज्नु भएको हो ?

 
यो व्यवसाय रोज्नुको कारण मेरो जीवनमा गहिरो प्रभाव पारेको छ । आज भन्दा १६ वर्ष पहिला यो ड्रागन फ्र्रुटको बारेमा सुनेको थिए, म राजनीतिक भ्रमणमा नाराणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा लगायत हामी केही उच्च तहका व्यक्तिहरु चीन भ्रमण गएका थियौ  त्यहाँ यो  ड्रागन फ्र्रुट खाने र  यसको महत्व बुझ्ने मौका पाएको थिए, यो फल स्वास्थ्यको लागि लाभदायक र पौष्टिक तत्व  भरपुर मात्रामा  हुने हुँदा जीवनमा एक पटक यसको खेती गर्नु पर्छ भन्ने लागेको थियो  यसकारण फरक खालको कृषि व्यवसाय गर्दा अरुलाई पनि नयाँ खालको सन्देश दिन सकिने साथै यो फल महङ्गो  पर्ने हुँदा उच्च मुल्ययुक्त फलफुल व्यवसाय गर्दा यसको महत्व पनि रहन सक्छ भन्ने लागेर यो ड्रागन फ्र्रुट व्यवसाय सञ्चालन गरेका हौ ।

 
स्वास्थ्यको लागि लाभदायक त भन्नु भयो यो ड्रागन फल सेवन गर्दा पाइने पौष्टिक तत्व के के हुन् ? 


यो ड्रागन फ्र्रुटको सेवनबाट शरीरमा हुने फाइदाहरु मानव स्वास्थ्यमा लाग्ने विभिन्न प्रकारका रोगहरुसँग लड्ने क्षमता दिन्छ जसमा ग्याष्टिक,कब्जियत, कोलेस्ट्रल, प्रेशर, माइग्रेन, क्यान्सर लगायत सबै प्रकारका  रोगहरुसँग लड्ने रोग प्रतिरोधात्मक  क्षमता वृद्धि गर्ने सम्पूर्ण तत्वहरु यो फलबाट पाइने हुँदा यो फलको महत्व बढ्दै  गएको छ ।  संसारका २० उत्कृष्ट फलहरु मध्ये यो ड्रागन फ्र्रुट पनि पर्ने हुँदा अहिले यो फल सबैको रोजाइ र खोजाइमा परेको छ । 


यो ड्रागन फ्रुट व्यवसाय गर्दा आइपर्ने चुनौतीहरु के के हुन् ?


यो व्यवसायमा आइपर्ने चुनौतीहरु चिसोमा विरुवालाई केही समस्या हुुने, कुनै बोटमा धमिरा लाग्नुका साथै गर्मीयाममा यसबाट पलाएको मुनालाई कालो कमिलाले खाने सम्भावना बढी हुन्छ ।

 
व्यवसाय गर्नु ठुलो कुरा होइन यसलाई निरन्तरता दिनु ठुलो कुरा हो, यो व्यवसायलाई पछिसम्म निरन्तरता दिएर  एउटा सफल व्यवसायी बन्न के के कुराको आवश्यकता पर्छ होला ?


व्यवसायमा  निरन्तरता दिनलाई पहिलो कुरा आफैमा धैर्यता र मिहिनेती हुनु पर्दछ यसका साथै बजार व्यवस्थापन, टेक्निकल प्राविधिज्ञको साथ र सहयोग तथा जलवायु परिवर्तनका विभिन्न समस्याको समाधानका साथ साथै बेला बेलामा लगानीको पनि आवश्यकता पर्ने हुँदा यस्ता ( High value crops, high value fruits ) लाई राज्यले कसरी हेर्छ भन्ने पनि हुन्छ,  यस्ता कृषकहरुलाई उच्च प्राथमिकता दिएर बिना धितो सस्तो व्याजदरमा ऋण दिने र समय अवधिभित्र सावा व्याज असुल गर्ने गरी भर पर्दो सम्यन्त्र अपनाएर राज्यले कृषकलाई प्रोत्साहन दिनु पर्दछ । यस्ता विविध समस्याहरुसँग जुध्न सकियो भने व्यवसायमा  पछिसम्म निरन्तर जान  सकिन्छ  जस्तो लाग्छ । 


त्यसो भए यसको बजार व्यवस्थापन लगायत यो व्यवसायलाई पछि सम्म टिकाइ राख्ने  आधारहरु के के देख्नु भएको छ त ?


सर्वप्रथम ड्रागन फ्र्रुटको इतिहासलाई हेर्ने हो भने यसको ओरिजिन म्याक्सिको, दक्षिण अमेरिका राष्ट्र हो, दोस्रो भियतनाम,कम्बोडिया तेस्रो मलेसिया,थाइल्यान्ड चौठो चीन, भारत र नेपाल हो । अहिले संसार भरिका मानिस यो ड्रागन फ्र्रुटमा धेरै आकर्षक छन् । हाम्रो फर्ममा उत्पादन भएको फ्रुटले नेपालको बजारमा ५ प्रतिशत पनि पुग्दैन त्यसकारण बजार व्यवस्थापन गर्न समस्या होला भन्ने मलाई लाग्दैन । नेपालमा हाम्रो जस्तो फर्म त ३०० देखि ५०० सम्म सञ्चालन गर्न सकेमा राष्ट्रिय बजारीकरणबाट अन्तराष्ट्रिय बजार उन्मुख जान सकिन्छ । यसरी वृहत रुपमा उत्पादन गर्न सक्यौ भने स्थानीय,  राष्ट्रिय तथा अन्तराष्ट्रिय  बजारमा ताजा फल उपलब्ध गराउनुका साथै यसको जुस,फेसवास, केक, विस्कुट,चक्लेट,वाइन लगायत विभिन्न भेराइटीहरु बनाउन सकिन्छ । यसको लागि कुषिलाई पर्यटनसँग जोडेर  एग्रो टुरिजम तथा  उद्योगसँग जोडेर एग्रोइण्डष्ट्रिजमा लाने हो भने देश समृद्धिमा जान समय लाग्दैन । राज्यले राष्ट्र र जनताको हितको लागि यस्ता कार्य अवलम्बन ग¥यो भने त झन् सुनमा सुगन्ध हुन्छ यदि गरेन भने पनि हामी जस्तो जागरुक व्यक्तिले चाँसो लिएर अगाडि बढ्न सकियो भने अवस्य पनि यो व्यवसायलाई पछिसम्म टिकाइ राख्ने आधारहरु थुप्रै छन् ।

 
आगामी दिनमा यो बाहेक अन्य व्यवसायहरु पनि सञ्चालन गर्ने सोँच बनाउँनु भएको छ ?


सोँच बनाएका छौ । कहि कतैबाट लगानी जुटेछ भने यो भन्दा फरक खालको जस्तै एभोकाडो, रामभुटान,साउथ सफ, म्याङ्गो स्टीन, हरीयन नाइनटी नाइन स्याउ जस्ता नयाँ किसिमका फलका  भेराइटीहरु नेपाली जनताले छिटो खान पाउँने र हामीबाट  पे्ररित भएर अरुले पनि कृषि गर्न सिक्ने साथै उनीहरुको जीवनस्तर पनि माथि उठ्ने तथा युवाहरु  विदेश जान कम हुने  सोँचहरु  लिएका थियौ तर अहिलेलाई  लगानी नभएर यतिमै अल्झिएका छौ ।  

Comment As:

Comment (0)